काठमाडौं । कांग्रेस केन्द्रीय समिति बैठक सरेको सरै छ । बिहीबारका लागि डाकिएको बैठक शनिबारसम्मका लागि सारिएको छ ।
१५औं महाधिवेशनको निर्वाचन अगाडि कि पछाडि तोक्ने भन्ने विषयले कांग्रेसमा विवाद कायमै भएपछि केन्द्रीय कार्यसमिति बैठकको मिति सरेको सरै छ ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा बिहीबार बस्ने भनिएको बैठक स्थगित भएको र मंसिर ६ गते शनिबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने उल्लेख छ । बैठकमा कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातवटै प्रदेश सभापतिहरूको उपस्थितिका लागि आमन्त्रण गरिएको छ ।

कांग्रेसमा संस्थापन पक्ष कुनै पनि हालतमा निर्वाचनअघि महाधिवेशन नगर्ने पक्षमा छ । तर इतर पक्ष महाधिवेशन नगरी चुनावमा नजाने अडानमा छ । सोही कारण कार्यसमिति बैठक सरेको सरै गरेको हो । निर्वाचनका लागि दल दर्ता नगरेसम्म बैठक नराख्ने देउवा पक्षको रणनीति छ ।

कांग्रेसका विशेष महाधिवेशन पक्षधरले आज सानेपास्थति पार्टी मुख्यालय घेराउ कार्यक्रम स्थगित गरेका छन् । केन्द्रीय समितिको बैठकको निर्णयअनुसार अन्य रणनीति तयार गर्नुपर्ने भएकाले आजको केन्द्रीय कार्यालय घेर्ने कार्यक्रम स्थगित गरिएको नेपाली कांग्रेसका नेता रमेश धमलाले जानकारी दिए ।