काठमाडौँ । छिमेकमा कसैले ‘मम्मी’ भनेर बोलाउँदा आफ्नै छोरोको आवाज जस्तो लाग्छ भीममाया सुनुवारलाई । काना ठाडा हुन्छन्, घरको दैलोमा आइपुग्यो कि भनेर आँखाले खोज्न पुग्छन् । तर ती फगत स्वप्न हुन् ।

भीममायाका छोरा दिपेश अब यो संसारमा कहिल्यै नफर्किने गरी विलिन भइसकेका छन् । तै आमाको मन ! मुटुको कुनै कुनामा उनी धड्किरहेका हुन्छन् । आशाले ठाउँ ओगट्ने रहेछ ।

ADVERTISEMENT

दशैँ आयो, गयो । तिहार पनि गयो । चाडपर्वमा त हो छोराछोरीको यादले बढी सताउने । अबका चाडपर्वमा दिपेशको उपस्थिति हुने छैन । दिपेशलाई मासु औधी मनपथ्र्यो । आमा भीममायालाई मासु पकाएको दिन दिपेशको बढी सम्झना आउँछ, मन भक्कानिन्छ । दसैँका लागि घरमा बङ्गुर पालिएको थियो । उनी भावुक हुँदै भन्छिन्, ‘दुई धार्नी जति भुटेर पठाइदिनु है मम्मी भनेको अझै ताजै छ ।’ तर, भदौ २३ को जेनजी आन्दोलनमा उनी सहिद भए । मम्मी भन्ने उनको आवाज भने सदाका लागि विलिन भयो ।

ADVERTISEMENT

गत भदौ २३ गते नयाँ बानेश्वर क्षेत्रमा जेनजी आन्दोलनमा प्रहरीको गोली लागी दर्जनौँ प्रदर्शनकारीको मृत्यु भएको खबर दिउँसैदेखि नेपालभर फैलिएको थियो । छोराको अवस्था बुझ्न घरबाट तारन्तार फोन गर्दा सम्पर्क हुन सकेन ।

अपराह्न १ बजे फोन गर्दा दिपेशले आफू बानेश्वरको आन्दोलनमा सहभागी भएको र साँझ ६ बजे कोठामा पुगेर फोन गर्ने आफ्नो मम्मीलाई जानकारी गराएकी थिइन् । भीममायाले आन्दोलनमा नजाउ भनेको उाले मानेनन् । प्रदर्शन उग्र बनेको समाचार सुन्दा उनी आत्तिएकी थिइन् ।
सोही दिन साँझ ६ बजेपछि भीममायाको फोनमा अपरिचित व्यक्तिको आवाज सुनियो । ती व्यक्तिले उक्त फोन आफूले बानेश्वर क्षेत्रमा फेला परेको र लिन आउनु भनेपछि उनको मनमा चिसो पस्यो । उनले गाउँका अन्य व्यक्तिलाई फोन लिन जान अह्राए ।

छोराको फोन फिर्ता लिएपछि काठमाडौँ बस्ने उनकै साथीले दिपेशको हातमा गोली लागेको सुनाए । भीममायाको मनमा भक्कानियो । छोराको अवस्था बुझ्न र खोजी गर्न आफन्त र गाउँले साथीभाइ अस्पताल र प्रहरीसम्म पुगे । तर उनको अवस्था अत्तोपत्तो भएन । तीन दिनसम्म छोराको अवस्था पत्ता नलागेपछि भीममाया आफैँ काठमाडौँ आए । घाइते भनिएको र हराइरहेका छोराको खोजतलासलाई तीव्र पारियो ।

छोरालाई खोजी गर्न प्याराग्लाइडिङ पाइलट रामेछापका सानोबाबु सुनुवार, अभियान्ता आशिका तामाङको सहयोगमा उपत्यकाका विभिन्न अस्पतालमा भीममाया पुगिन् । उनीहरूले दिपेशको फोटो देखाउँदै अवस्था खोजी गर्दै जानेक्रममा एक सातापछि मात्रै त्रिवि शिक्षण अस्पतालका एक चिकित्सकको सहयोगमा शवगृहमा राखिएको लाशको अनुहार हेर्दै जाँदा दिपेश फेला परे । घाइते अवस्थामा दिपेशलाई कुन–कुन अस्पतालमा पुर्‍याइयो भन्ने यकिन भएन ।

घरको खाँबो, साथीहरूको मियो थिए दिपेश

सिन्धुलीको तीनपाटन–६ भलायोडाँडामा २०६३ फागुन १७ गतेका दिन पानी परिरहेको थियो, पुरानो घर भत्काएर नयाँ बनाइँदै थियो । परिवारमा गरिबी, खानको पनि दुःख थियो । त्यतिबेला पहिलो सन्तान जन्मिँदा, दुःखको बेला पनि ठूलो हर्क लागेको सम्झिन्छन् दिपेशका बुवा ढलकबहादुर ।

‘गाउँका कसैलाई मोटरसाइकलमा पुर्‍याउनुपर्‍यो भने उही अघि सर्थ्यो, सबैको कुरा मान्ने थियो ऊ’, ढलकबहादुर छोरालाई सम्झिदै भन्नुहुन्छ, ‘संसारलाई पुर्‍याउन टाढाटाढा लैजान्थ्यो । सबैको विश्वास उसैमा थियो । भलिबल खेल्ने केटाहरू आउँदा छोराको बढी सम्झना आउँछ । केटाहरूको ‘मियो’ जस्तै थियो ।’

दिपेशले विद्यालय शिक्षा परीक्षा (एसइई) सम्म मात्र अध्ययन गरेकी थिइन् । १९ वर्षीय उनी एक वर्षअघि काठमाडौँ आएर घर निर्माणको काम गरे । तर ठेकेदारले पैसा नदिएपछि उनी घर फर्के । दिपेशले ठेकेदारसँग अझै २० हजार लिन बाँकी रहेको आमा भीममाया सुनाउँछिन् । पछिल्लोपटक उनी गत जेठमा काठमाडौँ आए । लगत्तै सफाइ कम्पनीमा काम गर्न थाले ।

काठमाडौँमा मजदुरी गरेर उनले घरमा पैसा पठाउने गर्थे । थप पढ्ने इच्छा नभएकाले उनी विदेश जाने सोचमा थिए । दशैँमा घर नआउने र तिहारमा आएको बेला पासपोर्ट बनाएर विदेश जाने उनको योजना थियो ।

दिपेशका भाइ दिनेशलाई बारम्बार दाइको झझल्को आइरहन्छ । मोबाइलमा गेम खेल्दा होस् वा मेलपातमा जाँदा । दाइ बितेपछि दिनेशलाई संसारै अध्यारो भएको छ, मोबाइलको मनपर्ने गेम पनि खेल्न छाडेका छन् । बुबा ढलकबहादुर घरपरिवारको गुजारा चलाउन वर्षमा तीन महिना काठमाडौँ आएर खेतमा मजदुरी गर्दै आएका थिए। घरमा रहँदा उनले अधिकांश समय नाङ्लो बुन्ने र त्यसको बिक्रीबाट खर्च धान्दै आएका थिए ।