काठमाडौँ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल भारत प्रस्थान गरेका छन् । सशस्त्र प्रहरी बल, नेपाल र भारतको समकक्षी सशस्त्र सीमा बलबिच हुने नवौँ समन्वयात्मक बैठकमा भाग लिन उनी मंगलबार त्यसतर्फ प्रस्थान गरेका हुन् ।
अर्याललाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेललगायत बरिष्ठ अधिकृतहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका थिए ।
महानिरीक्षक अर्यालको साथमा सीमा सुरक्षा विभाग प्रमुख गणेश बहादुर ठाडा मगर, प्रहरी नायव महानिरीक्षक दिपक रेग्मी, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक रामप्रसाद दास, सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक किरण बस्नेत, गृह मन्त्रालयका उपसचिव रविन्द्र आचार्य, परराष्ट्र मन्त्रालयका उपसचिव विजयराज तन्डुकार तथा सशस्त्र प्रहरी नायव उपरीक्षक सुरज पौडेलसमेत त्यसतर्फ प्रस्थान गरेको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।
एसएसबीसँगको बैठक कात्तिक २६ देखि २८ गतेसम्म भारतको नयाँ दिल्लीमा सम्पन्न हुनेछ । बैठकमा सीमा अपराध नियन्त्रण, लागूऔषध ओसारपसार नियन्त्रण, अवैध चोरीनिकासी तथा पैठारी नियन्त्रण, सूचना आदान प्रदान र सीमा सुरक्षालाई थप सुरक्षित बनाउन समन्वय र सहकार्य गर्ने विषयमा दुई सुरक्षा निकायवीच छलफल हुने थापाले बताए ।








