राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा आंशिक अवरुद्ध, सेवाग्राही समस्यामा
काठमाडौं । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा आंशिक रूपमा अवरुद्ध भएको जानकारी गराएको छ ।

राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीको नियमित मर्मत सम्भार तथा क्षमता विस्तार भइरहेको हुनाले मर्मत पूरा नभएसम्म विभागसम्बद्ध तोकिएका सेवाहरू आंशिकरुपमा अवरुद्ध भएको विभागका सूचना अधिकारी शिवराज सेढाइँले जानकारी दिनुभयो ।

ADVERTISEMENT

उहाँका अनुसार अनलाईनमार्फत् राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन तथा कार्ड वितरण सेवा, राष्ट्रिय परिचयपत्रको विवरण सच्याउने सेवा, जन्म दर्ता गर्दाका बखत राष्ट्रिय परिचय नम्बर प्राप्त हुने सेवा, सामाजिक सुरक्षा भत्ताका लाभग्राहीहरूको नाम दर्ता तथा नवीकरणका क्रममा राष्ट्रिय परिचय नम्बररजैविक विवरणबाट प्रमाणीकरण सेवा र राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीसँग अन्तरआबद्धता भएका अन्य सार्वजनिक सेवाहरु अवरुद्ध भएका छन् ।

विभागले सरोकारवाला एवम् सेवाग्राहीको जानकारीका लागि सार्वजनिक सूचना प्रकाशन गरी मर्मतको कार्य सम्पन्न हुनासाथ सेवा प्रवाह सूचारु हुने जनाएको छ । आइतबारदेखि नै उक्त सेवा रोकिएको विभागले जनाएको छ ।
राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन र वितरणसम्बन्धी कार्य अफलाईनमार्फत् गर्न सकिने हुनाले सोही बमोजिम गर्ने गराउने व्यवस्था हुन सबै राष्ट्रिय परिचयपत्र सेवा इकाईहरूलाई जानकारी गराउँदै विभागले सो कार्यमा सहयोग गरिदिनुहुन सेवाग्राही सर्वसाधारण महानुभावहरूमा अनुरोध पनि गरेको छ ।