काठमाडौं । एनआइसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुजितकुमार शाक्यले बिहीबार पदभार सम्हालेका छन् । नबिल बैंकको डेपुटी सिइओबाट राजीनामा दिएर उनी एनआइसी एसिया बैंकको सिइओ बनेका हुन् ।

तीन दशकदेखि नेपालको बैंकिङ क्षेत्रमा कार्यरत शाक्यले भारतको दिल्ली युनिभर्सिटीबाट ब्याचलर इन कमर्स र भारतकै इन्स्टिच्युट अफ प्रोडक्टिभिटी एन्ड म्यानेजमेन्ट, लखनउबाट व्यवस्थापनमा स्नातकोत्तर गरेका छन् ।

नवनियुक्त शाक्यको नेतृत्वमा बैंकले महत्वपूर्ण सफलता प्राप्त गर्नुका साथै बैंकलाई प्रतिष्ठाको शिखरमा पुर्‍याउने दृढ विश्वास सञ्चालक समितिले लिएको छ ।

एनआईसी एसिया बैंक कर्मचारी संघले शाक्य सिइओ नियुक्त भएकाम आफूहरू उत्साहित भएको जनाएको छ । संघका अध्यक्ष सुमन थापाले विज्ञप्ति जारी गर्दै शाक्यलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् ।‘एनआईसी एसिया बैंकका कर्मचारीहरूको तर्फबाट, एनआइसी बैंकको प्रमुख कार्यकारी अधिकृतको रूपमा नियुक्त हुनुभएकोमा सुजित कुमार शाक्यलाई हार्दिक बधाई दिन चाहन्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘हामीलाई मार्गदर्शन गर्न तयार एक सच्चा नेताको साथ यो साँच्चै प्राकृतिक महसुस हुन्छ। हामी तपाईंको इमानदारी, नेतृत्व र दृष्टिकोणको स्तरलाई कायम राख्न प्रतिबद्ध छौं। हामी बैंकको साझा उपलब्धिहरू र निरन्तर प्रगति तर्फ काम गर्न उत्साहित छौं।’

शाक्य एनआईसी एसिया बैँककै पूर्वकर्मचारी हुन् । उनी साबिकको बैँक अफ एसियामा कार्यरत थिए । उनले केही समय सिभिल बैंकमा पनि काम गरे । त्यसपछि उनी जनता बैँक गए । जनता बैँकका डेपुटी सीइओ भएका उनी ग्लोबल आईएमइसँग मर्ज भएपछि नबिल बैँक पुगेका थिए ।