काठमाडौँ । संसारमा युरो-६ मापदण्डका सवारीसाधन सञ्चालनमा आएको धेरै भइसकेको छ । नेपालमै पनि धेरै सवारीसाधन सोही मापदण्डका आयात भई सञ्चालनमा आइसकेका छन् । तर अर्थमन्त्री रामेश्वर खनालले भने युरो–३ मापदण्डका सवारीसाधन आयात खुल्लाका लागि निर्णय गराएका छन् । युरो–३ गाडीहरू अहिले धेरै देशमा सञ्चालनमा रोक लागिसकेको छ ।
अर्थमन्त्रीले नेपाल सवारी मापदण्ड, २०८२ विपरीत केही सीमित व्यापारिक घरानालाई फाइदा पुग्ने गरी ३५ दिनको समय राखेर युरो–३ मापदण्डको गाडी भित्राउने निर्णय राजपत्रमा प्रकाशित गराएका हुन् ।
नेपाल सवारी मापदण्ड, २०८२ सवारी साधनको हकमा २०८२ मङ्सिर १५ गतेसम्म पूर्ववत् मापदण्डअनुसार आयात गर्न सकिने जनाइएको छ । यो व्यवस्था अनुसार व्यवसायीहरूले युरो–३ गाडीहरू आयात गर्न पाउने भएका हुन् ।
सरकारले २०८२ असार ९ गते राजपत्रमा प्रकाशित गर्दै नेपाल सवारी मापदण्ड, २०८२ लागू गरेको थियो । सो मापदण्ड लागू भएसँगै चार पाङ्ग्रे सावरी साधनमा युरो–६ र दुई पाङ्ग्रे सवारीसाधनमा युरो–५ लागू भएको थियो । सो मापदण्ड लागू भइसकेपछि सरकारले युरो–६ गाडीहरू आयात गर्नुपर्ने भए पनि जेनजी विद्रोहलगत्तै चुनावी अन्तरिम सरकारले सीमित समय राखेर फेरि युरो ३ गाडीहरू आयात गर्ने बाटो खुलाएको हो ।
राजपत्रमा ‘नेपाल सवारी प्रदूषण मापदण्ड, २०८२ लागू हुनुभन्दा पहिले प्रोफर्मा इन्भ्वाइस जारी भइसकेका सवारीसाधन तथा नेपालमा एसेम्बल वा उत्पादन हुने सवारीसाधन तथा त्यस्ता सवारीसाधन उत्पादन गर्न आवश्यक पार्टपूर्जा प्रयोग गरी एसेम्बल वा उत्पादन गरिएका सवारीसाधनको हकमा संवत् २०८२ साल मङ्सिर १५ गतेसम्मका लागि पूर्ववत् मापदण्ड अनुसारका सवारी साधन वा पार्टपूर्जा पैठारी गर्न वन तथा वातावरण मन्त्रालयले अनुमति प्रदान गर्ने’ उल्लेख छ ।







