काठमाडौं । भदौ २३ र २४ को जेनजी आन्दोलनपछि बन्द रहेका यातायात कार्यालय सञ्चालनमा आउन थालेका छन् । यातायात व्यवस्था विभागको सर्भर मर्मत भएसँगै काठमाडौं उपत्यकाका चारवटा कार्यालयबाट सेवा सञ्चालनमा आएका हुन्।
यातायात व्यवस्था कार्यालय गुर्जुधारा, सानोभर्याङ र एकान्तकुनाका दुईवटा कार्यालयको सेवा पुनः सुरू भएका हुन् । यी कार्यालयबाट सवारीसाधनको नवीकरणका साथै राजस्व पनि तिर्न सकिने छ ।
सवारी चालक अनुमतिपत्रको भने काम सुरू भएको छैन । यातायात व्यवस्था कार्यालय राधेराधे र चावहिलको सेवा भने अझै अनिश्चित छ । उपत्यकाबाहेकका कार्यालयहरूको हकमा भने छिट्टै सेवा सुरू गर्ने विभागका निर्देशक नरहरी तिवारीले जानकारी दिए ।
यातायात व्यवस्था विभागले सूरक्षण मुद्रणसँग १२ लाख सवारी चालक अनुमति पत्र लाइसेन्स छपाइको समझदारी पनि गरेको छ । विभागमा रहेको उपकरण जेनजी आन्दोलनमा तोडफोड भएपछि सेवा अवरूद्ध थियो । मुद्रणले अतिआवश्यक पर्नेलाई दैनिक पाँच सय सवारी चालक अनुमति पत्र छपाइ गरेर दिने पनि प्रतिबद्धता जनाएको छ ।







