म्याग्दी । निरन्तर हिमपातका कारण म्याग्दीदेखि धौलागिरि हिमाल फन्को लगाएर मुस्ताङ जाने धौलागिरि चक्रीय पदमार्गको हिडन भ्यालीमा आन्तरिक र बाह्य गरेर १५ जना पर्यटक समस्यामा परेका छन् । तीमध्ये तीन बेलायती महिला र १२ जना स्वदेशी पर्यटक छन् ।
म्याग्दीको धवलागिरी गाउँपालिका–४ मुदीको इटाली आधार शिविर भएर मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फा जाने क्रममा सोमबार रातिदेखि भएको निरन्तर हिमपातले पदमार्ग पुरिएपछि १२ नेपाली र तीनजना बेलायती पर्यटकहरु सो भ्यालीमा रोकिएका हुन् ।
धौलागिरि र सिता हिमालका बीचमा समुन्द्री सतहदेखि ५१०० मिटर उचाइमा रहेको हिडन भ्यालीमा बास बसेका उनीहरु सुरक्षित रहेका म्याग्दीका प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीले जानकारी दिए ।
‘काठमाडौको सेक्रेट हिमालय टे«ड एण्ड एक्पिडिसन ट्राभल एजेन्सी मार्फत पदयात्रामा गएका बेलायती पर्यटकले हिँड्न गाह्रो पर्ने भएकाले मंगलबार साँझ सम्बन्धित कम्पनीमार्फत हेलिकप्टरबाट उद्धारको ब्यवस्था मिलाउन अनुरोध गरेका थिए,’ उनले भने, ‘बुधबार बिहानसम्म सम्पर्कमा रहेका उनीहरु सकुशल छन् ।’
म्याग्दी र मुस्ताङको जिल्ला प्रशासन कार्यालय तथा सुरक्षा निकायमार्फत उद्धार टोली पठाउने प्रयास गरे पनि हिउँ पर्न नरोकिएकाले समस्या भएको छ । हिउँ पर्न रोकिएर मौसम सफा भएपछि स्थल र हवाईमार्गबाट हिडन भ्याली पुग्न सकिन्छ ।
उनीहरु रहेका स्थानमा होटल र घर छैन । सेक्रेट हिमालय टे«ड एण्ड एक्सपीडिसनका व्यवस्थापक विनय लामाका अनुसार बेलायती नागरिकत्रय म्यारी रिप्पे,क्यारिराइन विल्सन र इमिल्ली क्याट्स हिडन भ्यालीमा छन् ।
पथप्रर्दशकले स्याटेलाइट फोनमार्फत उद्धारको अनुरोध गरेका व्यवस्थापक लामाले बताए । हिमपात रोकिएर मौसम सफा भएमा हेलिकप्टर पुग्न सक्ने र हिउँ पग्लिएर बाटो पत्ता लगाउन सके मात्र सुरक्षित स्थलतर्फ हिँड्न सक्छन् । त्यहाँ मोवाइल र इन्टरनेट सेवाको पहुँच छैन ।





