काठमाडौँ । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन हिजो बेलुका घरघरमा ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको विधिपूर्वक पूजा गरी श्रद्धा भक्तिका साथ लक्ष्मीपूजा पर्व मनाइएको छ ।
हरेक वर्ष कात्तिक कृष्ण औँसीको साँझमा विधिपूर्वक सम्पन्नताकी देवी लक्ष्मीको विधिपूर्वक पूजाआराधना गर्ने परम्परा छ ।
लक्ष्मीपूजापछि कन्या र छोरीचेलीलाई लक्ष्मीको प्रतीक मानी पूजा गरेर दक्षिणासमेत दिने गरिन्छ । काठमाण्डौ उपत्यकासहित देशका प्रमुख शहर उज्यालोले झिलिमिलि बनेका छन् ।
आज मङ्गलवार यमपञ्चक अर्थात् तिहारको मध्य समय परेपनि शास्त्रले तोके अनुसार कुनै कर्म परेको छैन ।
गाईगोरु एवम् गोवर्द्धन पूजा भोलि परेको छ । आत्म पूजा र नेपाल संवत्को आरम्भ पनि यसै दिन परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । कात्तिक ६ गते बिहीवार भाइटीका र किजापूजा मनाइनेछ । भाइटीकाको शुभ साइत ६ गते बिहान ११ बजेर ३९ मिनेटमा रहेको समितिले यसअघि नै जानकारी गराएको छ ।






