काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य आज ऐतिहासिक उचाइमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला सुनको भाउ २ लाख ५० हजार ९ सय रुपैयाँ पुगेको हो।
अघिल्लो दिनको तुलनामा आज तोलामा २ हजार रुपैयाँले वृद्धि भएको छ, जसले हालसम्मकै उच्च मूल्य कायम गरेको महासंघले जनाएको छ। बुधबार प्रतितोला २ लाख ४८ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।
सुनको लगातार बढ्दो मूल्यले बजारमा उत्साह र चिन्ता दुबै सिर्जना गरेको छ। व्यवसायीहरूले सुनको अन्तर्राष्ट्रिय मूल्यवृद्धि, अमेरिकी डलरको मजबूती र स्थानीय माग बढ्नुजस्ता कारणले मूल्य चुलिएको बताएका छन्।
त्यस्तै, चाँदीको मूल्यमा पनि आज वृद्धि भएको छ। अघिल्लो दिन ३२४० रुपैयाँ प्रतितोला रहेको चाँदी आज ३२७५ रुपैयाँ पुगेको छ। यसअघि मंगलबार चाँदी ३३२५ रुपैयाँसम्म पुगेको थियो।
सुनचाँदी बजारका व्यापारीहरूले मूल्य अझै केही दिन उकालो लाग्ने अनुमान गरेका छन्।







