काठमाडौं । २०७२ को भूकम्पपछि बनेका एकनासको घरहरू, बादल लुकामारी गरिरहने गोरखा जिल्ला अजिरकोट गाउँपालिकाको नम्की गाउँ आजभन्दा लगभग आठ वर्ष अगाडि नै होमस्टे सञ्चालन गर्न सुरु गरिएको थियो ।

गाउँको १० घरमा पाहुना राख्ने गरी सञ्चालन गरिएको सो होमस्टेहरुमा तराईको गर्मी छल्न चितवन र त्यस्तै गरी गोरखाको तल्लो भेग, तनहुँ, धादिङ लगायत विभिन्न क्षेत्रमा आन्तरिक पर्यटक आउने गर्दछन् ।

ADVERTISEMENT

गोरखा जिल्ला सदरमुकामबाट लगभग ६० किलोमीटर दुरीमा रहेको नम्की गाउँका होमस्टेमा शुक्रबार र शनिबार पाहुनाहरुको राम्रै उपस्थिति हुने गरेको छ । राम्रो सडक सञ्जालले जोडिएका कारण पनि सो क्षेत्रमा पर्यटकहरुको आगमन दिनप्रतिदिन बढ्दै गएको छ ।

यही कुरालाई ध्यान दिँदै काठमाडौंमा स्नातक अध्ययन गर्दै गरेका २४ वर्षीय नवीन तामाङले गाउँमा आमाबाबाले सञ्चालन गर्दै आएका होमस्टेलाई अझ व्यवस्थित रुपमा संचालन गर्ने उद्देश्यले गाउँ फर्कने निर्णय स्वरूपमा नम्की होमस्टे सञ्चालन गरेका छन् ।

ADVERTISEMENT

भूकम्पपछि लोप हुँदै गएको परम्परागत ढुंगाले छाएको घर निर्माण गरी सञ्चालन गरिएको सो होमस्टेले नबिनलाई गाउँ मात्र फर्काएन विदेशीने उनको विचारलाई समेत जितेको छ । ‘स्नातक अध्ययनपछि विदेशी जाने विचार थियो, अब गाउँमै राम्रो भएपछि विदेशी नजाने विचार गरें,’ उनले भने ।

गाउँमा उत्पादन गरिएको विभिन्न तरकारी, लोकल कुखुरा, पाहुनाहरुको मागअनुसारको नाइट क्याम्प र होमस्टेमा तातोपानी र चिसो पानीको व्यवस्थाले गर्दा सो क्षेत्रमा घुम्न आउनेहरुले सो होमस्टे रोज्ने गरेका छन् । होमस्टे सञ्चालन गरेको ६ महिनामै राम्रो आम्दानी दिन थालेपछि गाउँमै बसेर व्यवसायलाई अझ विस्तार गर्ने उनको लक्ष्य छ ।

 

तस्बिर : नेपाल फोटो लाइब्रेरी