काठमाडौं, राष्ट्रपति रामचन्द्र पौडेलले आह्वान गर्नुभएको सर्वदलीय बैठकमा अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीसहित सबै मन्त्री सहभागी हुनुहुन्थ्यो। यो बैठक जेन–जेड आन्दोलनपछि बनेको अन्तरिम सरकार र राजनीतिक दलहरूबीचको पहिलो आमनेसामनेको रूपमा लिइएको छ।
नेपाली कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा, नेकपा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेल, नेकपा माओवादी केन्द्रबाट वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र सचिव वर्षामान पुन सहभागी थिए।
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीबाट कार्यवाहक सभापति डिपी अर्याल र सहमहामन्त्री विपिन कुमार आचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रवक्ता ज्ञानेन्द्र शाही र मिना लामा, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव धनश्याम भुषाल बैठकमा उपस्थित थिए।
जनता समाजवादी पार्टीबाट रेनु यादव, जनमत पार्टीबाट चन्द्रकान्त राउत र डा. जयकुमार राउत, लोकतान्त्रिक समाजवादी पार्टीबाट ज्ञानेन्द्र झा र सर्वेन्द्रनाथ शुक्ला, नागरिक उन्मुक्ति पार्टीबाट रेशम चौधरी, नेपाल मजदुर किसान पार्टीबाट सुनिल प्रजापती र जसपा नेपालबाट विद्युत बज्राचार्य र प्रकाश अधिकारीको पनि सहभागीता थियो
फाल्गुन २१ मा निर्वाचन घोषणा भएको सन्धर्भमा अन्तरिम सरकारले राजनीतिक दलहरूसँग वार्ता गर्ने पहल नगरेको भन्दै असन्तुष्टि बढेपछि राष्ट्रपति पौडेल स्वयंले पहल गर्दै बैठक बोलाएका हुन् । बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, शान्ति प्रक्रियाको निष्कर्ष र आगामी राजनीतिक सहकार्यका विषयमा विस्तृत छलफल भएको बताइएको छ।






