वासिङ्टन । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वका सहयोगी मुलुकहरू इरानसँगको युद्ध अन्त्य गर्ने सम्झौताको प्रारम्भिक रूपरेखामा सहमत भएको दाबी गर्दै तत्कालका लागि नयाँ सैन्य आक्रमण नगर्ने संकेत गरेका छन् ।

शनिबार सामाजिक सञ्जालमार्फत ट्रम्पले प्रस्तावित सम्झौतामा स्ट्रेट अफ होर्मुजलाई पूर्ण रूपमा खुला राख्ने र इरानको आणविक खतरा अन्त्य गर्ने विषय समावेश हुने बताएका छन् ।

ADVERTISEMENT

‘यदि छिट्टै सम्झौता हुने अवस्था बन्यो भने विश्वको भविष्य र समृद्ध इरानका लागि आक्रमण रद्द गर्न म सहमत छु,’ ट्रम्पले लेखेका छन् ।
उनका अनुसार इजरायलले पनि युद्ध अन्त्यका लागि इरानसँग सम्झौता गर्ने अमेरिकी प्रयासलाई समर्थन गरेको छ । यद्यपि, ट्रम्पको घोषणाप्रति इरानले तत्काल कुनै प्रतिक्रिया जनाएको छैन ।

पाँच महिनादेखि जारी द्वन्द्वमा यो पछिल्लो अप्रत्याशित मोड हो । एक दिनअघि मात्र ट्रम्पले इरानलाई वार्तामा आउन बाध्य पार्न पुन: व्यापक सैन्य आक्रमणको तयारी भइरहेको संकेत दिएका थिए ।

ADVERTISEMENT

अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानविरुद्ध सैन्य कारबाही सुरु गरेका थिए । ट्रम्पले त्यसबेला इरानको क्षेप्यास्त्र क्षमता नष्ट गर्ने, आणविक हतियार विकास रोक्ने तथा इरान समर्थित सशस्त्र समूहलाई दिइने समर्थन अन्त्य गर्ने उद्देश्य रहेको बताउनुभएको थियो । यद्यपि, युद्धका उद्देश्य र रणनीति समयक्रममा परिवर्तन हुँदै आएका छन् ।

जुनको मध्यतिर भएको अन्तरिम युद्धविरामपछि स्थायी सम्झौताको अपेक्षा गरिएको थियो । तर, स्ट्रेट अफ होर्मुजमा जहाजहरूमाथि पुन: आक्रमण भएपछि केही सातामै युद्धविराम भंग भएको थियो ।

ट्रम्पको घोषणा साउदी युवराज मोहम्मद बिन सलमानसँग भएको टेलिफोन वार्तापछि आएको हो । छलफलको जानकारी राख्ने स्रोतका अनुसार युवराजले अमेरिका–इरान द्वन्द्व थप चर्किन सक्ने सम्भावनाप्रति चिन्ता व्यक्त गरेका थिए ।

स्रोतका अनुसार, यदि अमेरिकाले इरानको ऊर्जा पूर्वाधार, पुल वा विद्युत् केन्द्रहरूमा ठूलो आक्रमण गर्‍यो भने त्यसको जवाफमा इरानले साउदी अरब तथा अन्य खाडी मुलुकका ऊर्जा पूर्वाधारलाई निशाना बनाउन सक्ने चिन्ता साउदी पक्षको छ ।