काठमाडौं । नेवार समुदायको प्राचीन र पवित्र परम्परामध्ये एक थेचो नवदुर्गा नाच मंगलबार पाटन दरबार क्षेत्रको मूलचोकमा सम्पन्न भएको छ।

थेचोस्थित देवीको घरबाट सुरु भएको यस धार्मिक यात्रामा देवगण का रूपमा मुखुण्डो र परम्परागत पोशाकमा सजेका भक्तजनहरूले मुख्य देवी (मु द्यः), मुखुण्डो, पोशाक, गहना र खर्पन बोकेर ऐतिहासिक मूलचोकमा ल्याएका थिए।

यो नाच दशैंको विजया दशमी अर्थात् टिका लगाउने दिनमा पनि पाटनमा प्रदर्शन गरिन्छ। सो अवसरमा नवदुर्गा समूहले मन्मनेश्वरी देवी (जसलाई तलेजुको रूपमा पनि पूजिन्छ) लाई भेट्ने परम्परा छ।

शताब्दीयौँ पुरानो यो विधि दशैं पर्वको अभिन्न अंश हो, जसलाई हरेक वर्ष विजया दशमी र कोजाग्रत पूर्णिमाका दिन दुईपटक प्रदर्शन गरिन्छ। यात्राको अघि ३४ जना सहभागी— ११ जना देवगण, ३ जना नाइक (धार्मिक अगुवा) र अन्य गुथियारले थेचोस्थित देवीको घरमा पूजापाठ गरेका थिए ।