विराटनगर। शुक्रबार, शनिबार र आइतबारको लगातार वर्षाले कोशी प्रदेशमा सबैभन्दा बढी क्षति पुर्‍याएको छ। वर्षाले डुबान, विस्थापन र घाइतेको संख्या बढ्दै जाँदा स्वास्थ्य सेवा प्रवाहमा थप चुनौती थपिएको छ।

मोरङ जिल्लामा मात्र २५ देखि ३० परिवार विस्थापित भएको कोशी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक ज्ञानबहादुर बस्नेतले जानकारी दिए प्रभावित क्षेत्रमा स्वास्थ्य जोखिम समेत उच्च बनेको उनले बताए।

निर्देशक बस्नेतले भने, “मौसम विज्ञान विभागको पूर्व जानकारी पाएपछि दशैं सुरु हुनुअघि नै हामीले सबै अस्पताल र स्वास्थ्य संस्थालाई सतर्क रहन निर्देशन दिएका थियौं। कर्मचारीलाई आलोपालो खटाइएको छ र आवश्यक औषधि तथा सामग्रीको अग्रिम तयारी गरिएको छ।”

ADVERTISEMENT

इलाममा सडक अवरुद्ध हुँदा उपचारमा कठिनाइ भएको उल्लेख गर्दै उनले भने, “इलामतर्फ सडक सम्पर्क अवरुद्ध छ। त्यसैले स्थानीय स्वास्थ्य संस्थाले प्राथमिक उपचार गरिरहेका छन्। तर जटिल उपचारका लागि हेलिकप्टरमार्फत इटहरी ल्याएर उपचार गरिएको छ। आइतबार मात्र प्रसूति पीडामा रहेकी एक महिलालाई हेलिकप्टरमार्फत ल्याएर सुरक्षित रूपमा प्रसूति गराइएको छ।”

ADVERTISEMENT

निर्देशक बस्नेतका अनुसार आपत्कालीन अवस्थामा स्वास्थ्य सेवा अवरुद्ध नहोस् भनेर प्रदेशभरका द्रुत प्रतिक्रिया टोली सक्रिय अवस्थामा छन्। संघीय तथा प्रदेश स्तरीय स्वास्थ्य क्लस्टरसँग निरन्तर समन्वय भइरहेको छ।

ADVERTISEMENT

उनले भने, “सोमबार बिहान ८ बजे प्रदेश स्तरीय बैठक बोलाइएको छ। त्यसमा १४ वटै जिल्ला स्वास्थ्य कार्यालय प्रमुख, अस्पतालका प्रतिनिधि, आपूर्ति व्यवस्थापन केन्द्र, जनस्वास्थ्य प्रयोगशालाका प्रमुखसहित बृहत् छलफल हुनेछ। बैठकमा मन्त्री र सचिव समेत सहभागी हुनेछन्।”

स्वास्थ्य सेवामा अवरोध नहोस् भनेर स्वास्थ्यकर्मीलाई प्रभावित क्षेत्रमा खटाइए पनि सडक अवरुद्ध हुँदा उपचारमा चुनौती कायमै रहेको उनले जानकारी दिए। उनले भने, “बिरामीलाई सदरमुकाम ल्याउन र मृतकको शव परीक्षण गर्न गाह्रो भइरहेको छ। तर कर्मचारीलाई सम्भव भएसम्म खटाइएको छ।”

प्रदेश विपद् व्यवस्थापन समितिसँगको निरन्तर समन्वयमा औषधि आपूर्ति, शव व्यवस्थापन, राहत वितरणदेखि रोग रोकथामसम्मका विषय प्राथमिकताका साथ छलफल भइरहेको निर्देशक बस्नेतले जानकारी दिए। 

संक्रामक रोगको बढ्दो जोखिम

कोशी अस्पतालका फिजिसियन डा रोशन खड्काले बाढीपछि संक्रामक रोग फैलिने जोखिम हुने भएकाले विशेष सतर्कता आवश्यक रहेको बताउनुभयो। उनका अनुसार झाडापखाला, डायरिया, हैजा जस्ता रोग फैलिनसक्ने सम्भावना बढी छ।

डा खड्काले प्रभावित परिवारलगायत सबैलाई उमालेको पानी पिउन, सरसफाइमा ध्यान दिन र सुरक्षित खाना मात्र सेवन गर्न अनुरोध गरेका छन् ।

यो समयमा पानीजन्य रोग मात्र होइन, लामखुट्टे र भुसुनाबाट सर्ने रोग देखिनसक्ने खतरा पनि उत्तिकै उच्च रहेको डा खड्काले बताए । उनले भने, “हिजोदेखि नै पानीमा भिजेका कारण रुघाखोकी र ज्वरोका बिरामी अस्पताल आउन थालेका छन्। त्यसैले आवश्यक काम बाहेक घरबाहिर ननिस्कनु बुद्धिमानी हुन्छ।”

स्वास्थ्य समस्या देखिए आफैले औषधि सेवन नगरी तत्काल नजिकैको स्वास्थ्य संस्थामा जान आग्रह गर्दै उनले भने, “आफुखुसी औषधि सेवनले जटिलता बढाउन सक्छ। त्यसैले स्वास्थ्यमा समस्या देखिए स्वास्थ्य सेवा लिन ढिला गर्नुहुँदैन।”