अमेरिकी संघीय सरकार बुधबारदेखि आधिकारिक रूपमा बन्द भएको छ। डेमोक्र्याट र रिपब्लिकनबीच बजेट विधेयकमा सहमति हुन नसक्दा संघीय खर्च रोकिएको हो। यसले अत्यावश्यक  सरकारी सेवा बाहेक का सेवाहरुलाई तत्काल प्रभावित गरेको छ भने लाखौं कर्मचारीहरुकोको तलब रोकिएको छर र उनीहरुको रोजगारी अनिश्चित बनेको छ। 

शट-डाउन भनेको के हो?

जब अमेरिकी संघीय सरकारको नयाँ आर्थिक वर्षको अक्टोबर १ सम्म  पनि आवश्यक खर्चहरु आधिकारिक रुपमा कंग्रेसद्वारा  स्वीकृत हुँदैन त्यस्तो अवस्थालाई अमेरिकामा शटडाउन भनिने गर्छ। यस्तो अवस्थामा सरकारी एजेन्सीहरूले आफ्नो अत्यावश्यक बाहेकका अन्य कामहरु  रोक्नु पर्छ र कर्मचारीलाई केहि समयको बिदामा पठाइन्छ, जुन अवधिको उनीहरुले  तलब पाउँदैनन् र अस्थायी रूपमा काममा उपस्थित हुन रोक लगाइन्छ । तर यसपटक ट्रम्प प्रशासनले यो शटडाउन अघिल्ला शटडाउनभन्दा फरक हुने चेतावनी दिँदै स्थायी रूपमा कर्मचारी बर्खास्त गर्न सक्ने संकेत दिएको छ।

अहिलेको विवाद किन भयो?

अहिलेको मुख्य विवाद स्वास्थ्य बीमा योजनासँग जोडिएको छ। डेमोक्र्याटहरू अमेरिकी जनतामाझ लोकप्रिय ओबामा केयर अर्थात Affordable Care Act का लागि थप रकम बिनियोजन गराउनुको साथै विशेष कर–राहत (Tax Credits) विस्तार गर्न खोजिरहेका छन् जसले स्वास्थ्य बीमा सस्तो हुन्छ तर  यी सुविधा आउदो डिसेम्बरको अन्त्यमा समाप्त हुने भएकाले डेमोक्र्याटहरू अहिले नै ति योजनाको निरन्तरताको लागि ट्रंपको सहमति खोजिरहेका छन्। 

तर रिपब्लिकनहरूले छोटो–अवधिको खर्च विधेयकमार्फत नोभेम्बरसम्म मात्र चलाउने प्रस्ताव गरेका छन्। जसमा ओबामा केयर को बजेट कटौती गरिएको छ, जुन डेमोक्र्याटहरूले अस्वीकार गरेका छन्। यसै मुद्दामा दुई पक्ष बीच टकराव बढ्दै गएको छ।

कंग्रेसमा राजनीतिक गतिरोध

रिपब्लिकनहरूले सिनेट र हाउस दुबै नियन्त्रणमा राखे पनि विधेयक पारित गर्न आवश्यक ६० मत पाउन सकेका छैनन्। सिनेटमा बहुमत नेतामा रिपब्लिकन जोन थुन छन् भने अल्पमत नेतामा डेमोक्र्याट चक शुमर छन्। हाउसमा स्पिकर रिपब्लिकन माइक जोनसन छन्। सेनेटमा, रिपब्लिकनहरुसँग ५३ सिट छन् र डेमोक्र्याटसँग ४७ तर  रिपब्लिकनहरूलाइ  कानुन पारित गर्न थप  ६० डेमोक्र्याट मत आवश्यक पर्दछ । त्यस्तै प्रतिनिधि सभामा, रिपब्लिकनसँग २२० सिट छन् र डेमोक्र्याटसँग २१२।  संख्यात्मक हिसाबले रिपब्लिकनहरू बलियो देखिए पनि  डेमोक्र्याटस्हरुको सहमतिको  अभावले कंग्रेसमा वर्तमान  गतिरोधमा उत्पन्न भएको हो ।

शटडाउनअघि भएको वार्तामा दुवै पक्ष आफ्नो आफ्नो अडानबाट हट्न तयार देखिएका छैनन्। यसैक्रममा राष्ट्रपति ट्रम्पले डेमोक्र्याट नेताहरुसँगको बैठक तोडेदै सामाजिक सञ्जालमा विपक्षी नेताहरूलाई लक्षित गर्दै विवादास्पद “डीपफेक” भिडियो सार्वजनिक गरेर वातावरणलाई झनै तिक्ततपूर्ण बनाएका छन्।

प्रभाव के हुन्छ?

यो मुद्धामा काँग्रेसमा दुवै पक्षको सहमति नभएसम्म शटडाउन जारी रहनेछ । यसले करिब ७.५ लाख संघीय कर्मचारीलाई केहि समयको लागि बिदामा पठाउनु पर्ने हुन्छ । जसकाकारण उनीहरूले खाईपाई आएको  दैनिक झन्डै ४ सय मिलियन अमेरिकी डलर बराबरको तलब गुमाउनुपर्ने हुन्छ। केही जरुरी सेवाका कर्मचारीहरु जस्तै सेनाका सदस्य, एफबीआई, सीआईए तथा हवाई यातायात नियन्त्रकहरू भने काममा उपस्थित भइरहनेछन्, र उनीहरुले आफ्नो तलब शटडाउन सकिएपछि मात्र पाउनेछन्।

अमेरिकी नागरिकहरूले पनि यसलाई प्रत्यक्ष प्रभाब पार्ने छ । शटडाउनका कारण हवाई यात्रामा ढिलाइ, राष्ट्रिय निकुञ्ज बन्द हुने सम्भावना रहन्छ साथै  सरकारी तथ्यांक प्रकाशनमा ढिलाइ हुने, स्वास्थ्य बीमा भुक्तानीमा अनिश्चितता सिर्जना हुने जस्ता असर देखिनेछन्। 

वृद्ध, अपांगता भएका नागरिक र अन्य लाभग्राहीहरूले भने शटडाउनका अवधिभर पनि सामाजिक सुरक्षा, मेडिकेयर र मेडिकेडजस्ता अनिवार्य सेवा निरन्तर पाउनेछन्।

अघिल्ला शटडाउन र अहिलेको शटडाउन बिच  भिन्नता

अमेरिकामा शटडाउनको बिषय  नौलो भने  होइन। सन् २०१८–१९ मा ट्रम्प सरकारकै पालामा ३५ दिन लामो शटडाउन भएको थियो, जुन अमेरिकी इतिहासकै हालसम्मको सबैभन्दा लामो शटडाउन थियो। तर योपटक ह्वाइट हाउसले एजेन्सीहरूबाट  ठूलो संख्यामा कर्मचारी हटाउने तयारी गर्न निर्देशन दिएको बताईन्छ  साथै उसले कर्मचारीहरुलाई केहि समयको लागि बिदामा पठाएर पुनः काममा फर्काउने प्रचलनलाई उल्टाउँदै, स्थायी बर्खास्ती गर्ने सम्भावना बढेको छ। जसले यो पटकको शटडाउन कडाहुने आकलन गरिएको छ।  

शटडाउनको समाधान के हो त ?

कति समयसम्म शटडाउन चल्छ भन्ने अनिश्चित छ। रिपब्लिकनहरूले डेमोक्र्याटहरूलाई आफ्नो प्रस्ताव स्वीकार गर्न दबाब दिइरहेका छन् भने डेमोक्र्याटहरूले स्वास्थ्य बीमामा कटौती मान्न तयार छैनन्। मध्यमावधि चुनाव आउन लागेकोले दुवै पक्ष आ–आफ्नो अडानबाट पछाडि हट्ने संकेत छैन। यसबीच लाखौं अमेरिकी कर्मचारी र सर्वसाधारण नागरिक शटडाउनको मारमा पर्न थालेका छन्। यसैबीच मध्यमावधि चुनाव आउदै गर्दा कतिपय रिपब्लिकनहरूपनि नयाँ स्वास्थ्य सेवामा ट्रम्पले लागु गर्न खोजेको कटौती योजनाले आफ्नो क्षेत्रमा कस्तो प्रभाब पर्नेहो भनेर शसंकित छन्। 

अहिलेको समाधानमा भनेको दुवै पक्षको समझदारीमा अस्थायी खर्च विधेयक पारित गर्दै सरकारले अल्पकालीन रूपमा काम गर्न सक्ने व्यवस्था गर्दै  राजनीतिक वार्ता र  आफ्ना आफ्ना अडानलाइ आपसी लेनदेन बाट विवादको दिगो समाधान निकाल्नु हुनेछ।