काठमाडौँ । नेपालीको महान पर्व विजयादशमी (बडादसैँ) मा काठमाडौं उपत्यका सडकमा सवारीको चाप पातलिएको छ । दसैँ-तिहार मनाउन सर्वसाधारण गाउँ फर्किएका र काठमाडौंका स्थानीयवासी घरबाहिर ननिस्किँदा काठमाडौं सुनसान भएको हो ।
सधैंजसो ट्राफिक जामले भरिने काठमाडौं उपत्यकाका सडक अहिले सुनसान भएका छन् । असोज ६ गते घटस्थापनादेखि अष्टमीसम्म साढे पाँच लाखभन्दा बढी काठमाडौँ उपत्यकाका विभिन्न नाकाबाट बाहिरिएका कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।
हिजोआज दैनिक सवारी चापमा करिब ४० देखि ५० प्रतिशतसम्म कमी आएको जनाइएको छ । उपत्यकामा सञ्चालन हुने सार्वजनिक सवारीसाधनमा देखिने यात्रुको भीड कम हुँदै गएको छ । वर्षभरि रोजगारी, अध्ययन, व्यापार तथा अन्य विभिन्न कारणले राजधानीमा रहेकाहरू दसैँका अवसरमा आआफ्नो गाउँ फर्किएका छन् ।
लामो समयपछि परिवारसँग पुनर्मिलनको आशा, आफ्नै गाउँको माटोको सुवास, चाडपर्वको स्वाद र बाल्यकालका सम्झनाले सबैलाई तानेको छ । सहरी भव्यता र व्यस्त जीवनशैलीबाट केही दिनका लागि टाढा हुँदै गाउँ फर्किने क्रमसँगै राजधानी सुनसान बन्दै गएको छ ।
ग्रामीण बस्ती भने जीवन्त र रमाइलो हुँदै गएका छन् । विगतमा निकै सवारी चाप हुने काठमाडौँका मुख्य सडकमा हाल सवारी चाप घटेको र उपत्यकामा दैनिक सवारी चापमा करिब ४० देखि ५० प्रतिशतसम्मको कमी आएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारीको भनाइले पनि यसलाई पुष्टि गर्छ ।
गाउँघरमा भने दसैँको आगमनसँगै वातावरण उल्लासमय बन्न थालेको छ । घरआँगनमा टीका र जमरा छर्ने तयारी भइरहेको तथा आआफ्नो धर्म, परम्परा र संस्कारअनुसार चाडको स्वागत भइरहेका दृश्य तथा तस्बिर सामाजिक सञ्जालमा प्रशस्तमात्रामा देखिन थालेका छन् ।
परदेशी मन घर फर्किएसँगै वृद्ध बाबुआमा, दाजुभाइ, दिदीबहिनी तथा नातागोता सबैबीच पुनः भेटको भावनात्मक क्षणहरू साटासाट भइरहेका छन् । दसैँको रमाइलो केबल टीका र मीठा परिकारमा सीमित छैन, यो एकपटक फेरि परिवारसँग बिताउने, पुराना सम्झनालाई जीवन्त बनाउने र समाजमा मेलमिलाप र एकता बढाउने पर्व पनि भएकाले प्रायः गरी परदेशीएकाहरू गाउँघर फर्किने गर्दछन् ।
दसैँको चहलपहल सुरु भएसँगै सङ्घीय राजधानी काठमाडौँबाट गाउँ फर्किनेको भीड तीव्र रुपमा बढेको थियो ।







