काठमाडौं । वनस्थलीस्थित राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालय रहेको भवन खाली गरिदिन घरधनी भरतमणि देवकोटाले आग्रह गरेपछि अर्को चिन्ता थपिएको छ । रास्वपा नेतासमेत रहेका देवकोटाले तीन महिनाभित्र घर खाली गरिदिन भनेका हुन् ।
१० महिनासम्मको भाडा नपाएको र सुरक्षाको कारणले घर छोड्न रास्वपालाई जानकारी गराएको देवकोटाको भनाइ छ । हाल उनी अमेरिकामा छन् । उनले १० महिनाको भाडावापतको रकम मात्र होइन, रास्वपालाई सापटी दिएको रकम पनि नपाएको गुनासो गरेका छन् । मासिक तीन लाख पचास हजार रुपैयाँका दरले १० महिनाको ३५ लाख रुपैयाँ रास्वपाले घरभाडाबापत बुझाउनुपर्ने छ । तीन महिनाको समय तोकेकाले ४६ लाख भाडाबापत बुझाउनुपर्ने हुन्छ ।
देवकोटा रास्वपा अनुशासन आयोगका प्रमुखसमेत हुन् । उनी अमेरिका गएपछि उनको स्थानमा अर्को व्यक्तिलाई कार्यवाहक तोकिएको थियो । स्थापनाकालमा बसुन्धरामा रहेको रास्वपाको कार्यालय त्यहाँ सानो भएको भनी देवकोटाको घर बनस्थलीमा सारिएको थियो ।
रास्वपा सभापति रवि लामिछाने दोस्रोपटक गृहमन्त्री हुँदा देवकोटा विज्ञ सल्लाहकारसमेत नियुक्त भएका थिए । रास्वपाले उनलाई राजदूतमा सिफारिससमेत गरेको थियो । तर पछि उनको नाम फिर्ता लिइएपछि देवकोटा रिसाएर अमेरिका गएको नेताहरुको भनाइ छ । स्रोतका अनुसार रास्वपाको पार्टी कार्यालय राखेमा जे पनि हुन सक्ने भन्दै थ्रेट आएपछि देवकोटाले घर खाली गर्न आग्रह गरेका हुन् ।






