काठमाडौँ । देशका २८ वटा कारागार र नौवटा सुधारगृहबाट भागेका १४ हजार ५४९ कैदीबन्दीमध्ये हालसम्म आठ हजार ५४ जना कारागारमा फर्किएका छन् । फर्किएकामा कारागारबाट भागेका सात हजार ७१३ र सुधारगृहबाट भागेका ३४१ जना रहेको कारागार व्यवस्थापन विभागले जनाएको छ ।
विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार कतिपय आफैँ आएका हुन् भने कतिपयलाई सुरक्षाकर्मीले पक्राउ गरी ल्याइएको हो । उनका अनुसार अझै ६ हजार ४९४ कैदीबन्दी फरार छन् । फरार हुनेमा कारागारबाट भागेका पाँच हजार ८७२ र सुधारगृहबाट भागेका ६२२ जना छन् । उनीहरूको खोजी जारी रहेको न्यौपानेले बताए ।
जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते कारागारबाट १३ हजार ५८५ र सुधारगृहबाट ९६४ कैदीबन्दी भागेका थिए । यसबीचमा १० कैदीबन्दीको भने मृत्यु भएको छ । कूल ३० हजार ६४६ कैदीबन्दी रहेकामा हाल २३ हजार ४४६ जना रहेका छन् ।
रास्वपा सभापति रवि लामिछाने नख्खु कारागारबाट बाहिर निस्केपछि देशभरका कारागार ब्रेक गरिएको थियो । रवि चार दिनपछि फर्किए पनि हजारौं कैदीबन्दी अझै फरार छन् ।






