काठमाडौं । कारोबारको चौथो दिन बुधबार सेयर बजार ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २७.८९ अंक घटेर २६५४.३५ विन्दुमा झरेको छ।
१३ उपसमूहमध्ये यस दिन दुई उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन होटल तथा पर्यटन र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य बढेको हो।
नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन अर्थात् मंगलबार पाँच अर्बभन्दा बढीको सेयर खरिदबिक्री भएको थियो । तर आज ३१७ स्टकको ४७ हजार ८५२ पटकको कारोबारमा चार अर्ब १२ करोड ४८ लाख २१ हजार रुपैयाँबराबरको ९४ लाख आठ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।
कारोबार रकमका आधारमा आज युनियन हाइड्रोपावर शीर्ष स्थानमा छ। यो कम्पनीको २२ करोड १३ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। नेपाल पुनर्बीमा कम्पनीको करिब साढे १७ करोड, हिमालयन रि इन्स्योरेन्सको १३ करोड, सीईबीडी होल्डिङको १२ करोड र शिवम सिमेन्टको ११ करोडको सेयर कारोबार भएको छ।
बुधबार तीन कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन माथिल्लो मैलुङ खोला जलविद्युत, सिटी होटल र हिमस्टार ऊर्जा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। सिटिजन्स म्युचुअल फण्डको इकाईमूल्य र भिजन लुम्बिनी उर्जा कम्पनीको सेयरमूल्य करिब ८ प्रतिशत बढेको छ।












