काठमाडौं । पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध हुँदा अलपत्र परेका यात्रुलाई जेसिज इच्छाकामनाको अगुवाइमा निःशुल्क खाना र खाजा वितरण गरिएको छ ।
जेसिजका उपाध्यक्ष प्रकाश श्रेष्ठका अनुसार, स्थानीय युवाले खाना र खाजासँगै शनिबार राति मगर समाज मुग्लिनको भवनमा सुत्ने व्यवस्था मिलाएका थिए ।
जेसिजकै नेतृत्वमा शनिबार दिनभर पनि चाउचाउ, बिस्कुट र पानी वितरण गरिएको थियो राससले जनाएको छ ।
पहिरोका कारण शुक्रबार बेलुका करिब साढे ६ बजेदेखि सडक अवरुद्ध भएपछि यात्रु अलपत्र परेका छन् । चितवनको इच्छाकामना गाउँपालिका–६, तुइन खोला पुलनजिकै पहिरो खसेको हो । पहिरो पन्छाउने प्रयास जारी रहेको सडक डिभिजन भरतपुरले जनाएको छ ।
आज बिहानैदेखि मुग्लिन साइडतर्फ र नारायणगढतर्फबाट मेसिनहरू परिचालन गरी पहिरो पन्छाउने कार्य निरन्तर जारी रहेको जानकारी गराउँछौँ,” सडक डिभिजनले आइतबार एक सूचनामार्फत भनेको छ ।
थप पहिरो नझरे र निरन्तर रूपमा कार्य गर्दा बाधा नभए आज दिउँसोसम्म सवारीसाधन सञ्चालनमा ल्याउन सकिने सडक डिभिजनले जनाएको छ । “सडक सञ्चालनमा नआउन्जेलसम्मको लागि कृपया धैर्य गरेर बसिदिनुहुन हार्दिक आग्रह गर्दछौँ,” सडक डिभिजनले भनेको छ ।
करिब ७० मिटरमाथिबाट पहिरो खसेको छ । पहिरोका कारण १६० मिटर सडक ढाकेको जनाएको छ । यो सडकमा दैनिक १० हजारभन्दा बढी सवारीसाधन गुड्छन् । यहाँबाट गुड्ने सवारीसाधनलाई हाल वैकल्पिक बाटो प्रयोग गर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।












