काठमाडौं । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा देशभरिका प्रहरी चौकीमा तोडफोड, आगजनी र लुटपाट मचाइयो । जसका कारण उपत्यकाका अधिकांश प्रहरी चौकी खण्डहर बनेका छन् ।
उपत्यकाको महाराजगन्ज र कोटेश्वर प्रहरी वृत्तमा गरी तीनजना प्रहरीहरुले ज्यान गुमाउनु परेको थियो ।
यस्तो कहालीलाग्दो अवस्थाबाट गुज्रिएको नेपाल प्रहरी उच्च मनोबलसहित अहिले नागरिक सेवामा खटिएका छन् । लुटपाट र आगजनीबाट आफ्नो बर्दीसमेत गुमाएका प्रहरीहरु अहिले बिना बर्दी नागरिक सेवामा खटिएका छन् ।
उपत्यकाको विभिन्न चोकहरुमा रहेको ट्राफिक आइरल्याण्डलगायत भौतिक संरचना तोडफोड भएपछि बाँकी रहेको अवशेषमाथि उभिएर र बर्दीबिनै प्रहरीहरु फिल्डमा खटिएका छन् ।
कतिपय प्रहरी चौकी समुदायको स्वतस्फुर्त सहयोगमा पुरानै अवस्थामा फर्किन थालेका छन् । जनताले आफ्नै खर्चमा प्रहरी चौकी पुनःस्थापना गरिरहेका छन् । यसले प्रहरीलाई थप मनोबल प्राप्त भएको छ ।







