काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले जेन जी अभियन्ताहरूको आह्वानमा भएको आन्दोलनका क्रममा दिवंगत भएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै सुशासनयुक्त नवनेपाल निर्माणमा सरकारसँग सहकार्य गर्ने प्रतिवद्धता जनाएको छ।
सिबिफिनले जारी गरेको विज्ञप्तिमा आन्दोलनका क्रममा अमूल्य जीवन गुमाएका युवाहरु, सुरक्षाकर्मी तथा सम्पूर्ण दिवंगत आत्माप्रति उच्च सम्मानसहित श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना र घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।
विज्ञप्तिमा भनिएको छ, “विगतको महाभूकम्प र कोभिड-१९ महामारीको संकटपछि तंग्रिदै गरेको मुलुकमा नयाँ नेपालको सपना बोकेका युवाहरुको आन्दोलनले इतिहासकै कठिन क्षण ल्याएको छ। तर, यही आन्दोलनले सुशासनयुक्त नवनेपाल निर्माणतर्फको स्पष्ट सन्देश पनि दिएको छ।”
सिबिफिनले आन्दोलनका क्रममा सार्वजनिक, सरकारी तथा निजी सम्पत्तिमा भएको अकल्पनीय क्षतिको प्रति गहिरो दुःख व्यक्त गरेको छ। साथै, युवाहरुको आकांक्षालाई आत्मसात् गर्दै नवगठित सरकारसँग सहकार्य गरेर शान्त, सुशासित र समुन्नत राष्ट्र निर्माणमा बैंक तथा वित्तीय क्षेत्र एकाकार भएर अघि बढ्ने प्रतिवद्धता जनाएको छ।
विज्ञप्तिमा थप उल्लेख छ, “निजी क्षेत्रलाई आश्वस्त पार्ने, लगानी गर्ने सुरक्षित वातावरण तयार पार्ने र पेशा–व्यवसाय तथा रोजगारीका लागि उपयुक्त नीति निर्माण गर्न सरकार कुनै कसर बाँकी नराख्नेमा सिबिफिन विश्वस्त छ।”
त्यसैगरी, गलत मनसायसहित बैंक तथा वित्तीय संस्थामा क्षति पुयाउने तत्वहरूविरुद्ध सजग रहँदै वित्तीय संस्थाहरुलाई सहज रुपमा सेवा सञ्चालनमा सहयोग गर्न समेत सबैमा आग्रह गरिएको छ।






