काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा आफू उम्मेदवार नबन्ने घोषणा गरेका छन् । उनले प्रतिनिधिसभाको चुनावपछि आफू कानुन व्यवसायमै फर्किने बताएका छन्।

बिहीबार काठमाडौँमा आयोजित ‘लोकतन्त्रको स्थायित्वका लागि निर्वाचन र सहभागिता’ विषयक अन्तरक्रियामा अर्यालले आफ्नो जिम्मेवारी पूरा गरेर पुरानै पेसामा फर्किने बताए । मानव अधिकारकर्मी र कानुन व्यवसायी सहभागी रहेको अन्तरक्रियामा उनले भने, ‘म त यही फिल्डबाट गएको मान्छे हुँ। यहीँ नै आउने भन्या छु। म हजुरहरूकै बीचमा छु।’

ADVERTISEMENT

यसअघि आफू मानव अधिकारकै लागि लडेको र अहिले पनि मानव अधिकारकै लागि काम गरिरहेको उनको भनाइ थियो। ‘पीडितका लागि न्याय खोजेर हिडेको मान्छु हुँ। मानव अधिकारकै क्षेत्रमा काम गरेको मान्छे हुँ। अहिले त्यही प्रयास गरिरहेको छु, भोलि पनि त्यही गर्छु,’ अर्यालले भने, ‘सडकमै आउने हो। म नागरिकै भएर पेसामै फर्किने हो।’

गृहमन्त्रीको रुपमा आफूले दण्डहीनतालाई प्रसय नदिने उनले बताए। न्यायकै पक्षमा उभिने उनको भनाइ थियो। ‘म कानून व्यवसायी हुँ। कानून व्यवसायमा पनि मानवअधिकार, सामाजिक न्याय, पीडितको न्यायका लागि लडेको मान्छे हो,’ अर्यालले भने, ‘म दण्डहीनताको पक्षमा छैन। मेरो बलबुताले भ्याएसम्म दण्डहिनता रहन दिन्न।’ अहिले सरकारको ध्यान चुनावमै केन्द्रितको उनले बताए। त्यसका लागि आफूले सक्दो प्रयास गरिरहेको उनको भनाइ थियो। आफू कुनै पक्ष र विपक्षमा नलागेको उनले उल्लेख गरे।

ADVERTISEMENT

अन्तरिम सरकारका एक मन्त्री कुलमान घिसिङले चुनाव लड्न पदबाट राजीनामा दिइसकेका छन् । युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता र सञ्चारमन्त्री जगदीश खरेल पनि चुनाव लड्ने मनस्थितिमा छन् । तर अहिलेसम्म राजीनामा दिएका छैनन् । गृहमन्त्री अर्यालले पहिले चुनाव लड्ने मनस्थिति बनाए पनि अहिले भने मन फेरेका छन् ।