काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी दसैँलाई लक्षित गर्दै पूर्व–सूचना अनुसार आजदेखि सुकिला नोट वितरण सुरु गरेको छ। काठमाडौँको थापाथलीस्थित राष्ट्र बैंकको कार्यालयमा नोट साट्न सर्वसाधारण आउन थालेका छन्। तर, हालैको जेन जी आन्दोलनपश्चात सिर्जित परिस्थितिका कारण यस वर्ष नोट साट्ने सर्वसाधारणको उपस्थिति न्यून देखिएको छ।

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका अनुसार असोज १० गतेसम्म सुकिला नोट वितरण हुने व्यवस्था गरिएको छ। नोट सटही थापाथलीस्थित विभागीय कार्यालयसँगै विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीस्थित प्रदेश कार्यालयमार्फत पनि गर्न सकिनेछ।

त्यसैगरी, इजाजत प्राप्त क, ख, र ग वर्गका बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरूबाट पनि कारोबारको समयमा सर्वसाधारण तथा संघसंस्थाले सुकिला नोट साट्न सक्ने व्यवस्था गरिएको छ।

यस वर्ष पनि प्रत्येक व्यक्तिले अधिकतम १८ हजार ५ सय रुपैयाँसम्म सुकिला नोट लिन सक्नेछन्। जसमा ५, १०, २०, ५० र १०० रुपैयाँ दरका नोट समावेश हुने राष्ट्र बैंकले जनाएको छ।