काठमाडौँ । सरकारले विदेशी नागरिकको आवागमन, बसोबास र गतिविधि व्यवस्थापनलाई व्यवस्थित बनाउन विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली आजदेखि औपचारिक रूपमा कार्यान्वयनमा ल्याएको छ। सन् २०२६ जनवरी १ को अवसर पारेर अध्यागमन विभागले यो प्रणाली सुरु गरेको हो।

गृहमन्त्री ओमप्रकाश अर्याल, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीसहितको उपस्थितिमा विभागले प्रणालीको शुभारम्भ गरेको हो। यसअघि १ असोजदेखि लागू गर्ने तयारी भए पनि मुलुकभित्रको बदलिँदो परिस्थितिका कारण मिति सारेर आजदेखि अनिवार्य गरिएको विभागले जनाएको छ।

ADVERTISEMENT

अध्यागमन विभागका अनुसार प्रणाली कार्यान्वयन दुई चरणमा गरिनेछ। पहिलो चरणमा काठमाडौँ उपत्यकाभित्रका तारे होटलमा यो प्रणाली अनिवार्य लागू गरिएको छ। दोस्रो चरणमा भने १ मार्च २०२६ देखि देशभरका तारे होटल, वायुसेवा कम्पनी, टुर एन्ड ट्राभल कम्पनी, मनी एक्सचेन्ज तथा अन्य सेवा प्रदायक संस्थामा विस्तार गरिनेछ। त्यसपछि सबै प्रकारका होटल, गेस्ट हाउस र सार्वजनिक तथा निजी संस्थाबाट प्रवाह हुने सेवामा पनि यो प्रणाली लागू गरिने विभागले जनाएको छ।

ADVERTISEMENT

विभागले विदेशी नागरिकलाई सेवा प्रदान गर्ने सबै सार्वजनिक र निजी संस्थालाई प्रणालीमा अनिवार्य आबद्ध हुन अनुरोध गरेको छ। अध्यागमन विभागका अनुसार यो प्रणालीको मुख्य उद्देश्य नेपाल भ्रमण गर्ने विदेशी नागरिकको सुरक्षा सुनिश्चित गर्नु, सूचनाको सहज व्यवस्थापन गर्नु, सम्भावित अपराध नियन्त्रणमा सहयोग पुर्‍याउनु र पर्यटन प्रवर्द्धनलाई थप सुदृढ बनाउनु हो।

यस प्रणालीमार्फत नेपाल प्रवेश गर्ने विदेशी नागरिकको बसोबास र गतिविधिको अभिलेख व्यवस्थित हुने, आपतकालीन अवस्थामा खोज, उद्धार तथा सुरक्षा कार्य सहज हुने अपेक्षा गरिएको छ। साथै सुरक्षा निकाय, पर्यटन व्यवसायी र सम्बन्धित निकायबीच सूचना आदान–प्रदानलाई प्रभावकारी बनाउँदै पर्यटन क्षेत्रलाई सुरक्षित र व्यवस्थित रूपमा अघि बढाउन सहयोग पुग्ने विश्वास लिइएको छ।

अध्यागमन विभागले आफ्नो वेबसाइटमार्फत प्रणालीमा आबद्ध हुने प्रक्रिया र आवश्यक विवरणबारे जानकारीसमेत सार्वजनिक गरेको जनाएको छ।