काठमाडौं । चर्चित आँखा विशेषज्ञ डा.सन्दुक रुइतले सुदन गुरुङ नेतृत्वको ‘हामी नेपाली’ एनजिओसँग जोडेर बारबरा फाउन्डेसनको बदनाम गरिएको बताएका छन् । आइतबार बारबरा फाउन्डेसनले आयोजना गरेको पत्रकार सम्मेलनमा फाउन्डेसनका अध्यक्ष डा. रुइतसहित पदाधिकारीहरूले ‘हामी नेपाल’ नामक गैरसरकारी संस्थालाई आर्थिक सहयोग गरेको आरोप शतप्रतिशत असत्य भएको बताए ।
रुइतले अमेरिकामा जन्मेकी, तर नेपाली भएर नेपालमै प्राण त्यागेकी बारबरा एडम्सको इच्छाअनुसार उनको निजी सम्पत्तिबाट फाउन्डेसन सञ्चालन भइरहेको बताए। ‘नेपालमै यस्तो शल्यक्रिया हुन्छ भनेर उहाँ अचम्मित हुनुभएको थियो। त्यसपछि हाम्रो सम्बन्ध अझै गहिरो बन्यो। उहाँ नेपाली समाज र मिडियामा चिनिएको व्यक्तित्व हुनुहुन्थ्यो। बारबराको राजनीतिक गतिविधिमा आफू सहमत असहमत छु। तर, नेपालको माया उहाँलाई असाधारण थियो,’ उनले २५ वर्षअघि एडम्सको आँखाको शल्यक्रिया गरेको स्मरण गर्दै भने, ‘उहाँकै आग्रहपछि म अध्यक्ष बनेको हुँ, अन्य पदाधिकारीहरू पनि स्वच्छ छवि भएका व्यक्ति नै छन्। तर आज हाम्राविरुद्ध फैलाइएका अफवाहले हामी मर्माहत भएका छौँ।’
फाउन्डेसनको कामबारे प्रस्ट्याउँदै उनले संस्थाको मुख्य उद्देश्य खोजपत्रकारिता पुरस्कार वितरण गर्नु, वातावरण, प्रकृति र संस्कृति संरक्षणका विषयमा फेलोसिप प्रदान गर्नु तथा टक सिरिज सञ्चालन गर्नु रहेको बताए।
भूकम्प र कोरोना महामारीका बेला ‘हामी नेपाल’ का सदस्यको काम देखेर फाउन्डेसनले आफ्नो कार्यालयमा बस्न दिएको रुइतको भनाइ थियो। ‘तर पछिल्लो एक वर्षदेखि उनीहरू कार्यालयमा छैनन्, मेरो सम्पर्कसमेत भएको छैन। बाहिर फैलाइएको फन्डिङको कुरा शतप्रतिशत गलत हो,’ उनले भने।
‘बारबरा एडम्सको नेपालप्रति रहेको प्रेमको कारण निजले मृत्युपश्चात आफ्नो सम्पत्ति बारबरा फाउन्डेसनले पाउने व्यवस्था गरेअनुरूप तहाँबाट हालसम्म करिब दुई करोड ८८ लाख प्राप्त गरेको र सोको कानुनबमोजिम सम्बन्धित निकायबाट स्वीकृतिसमेत प्राप्त गरेको छ । फाउन्डेसनको अधिकतम कोष नेपालीहरूकै दानबाट चलिरहेको छ। फाउन्डेसनले विगत आठ वर्षमा ब्याज आम्दानीलगायत कुल करिब सात करोड ८२ लाख प्राप्त गरेको छ । यसको वार्षिक बजेट करिब ५० लाख रुपैयाँ मात्र छ । यस अवधिमा आफ्नो कार्यक्रम एवं प्रशासनिक खर्चबापत करिब तीन करोड ६४ लाख खर्च गरेको छ । हाल फाउन्डेसनसँग करिब तीन करोड ९५ लाख बैंकमा मौज्दात रहेकोसमेत जानकारी गराउन चाहन्छौँ,’ फाउन्डेसनले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।










