काठमाडौं, राजधानी काठमाडौंसहित मुलुकका विभिन्न भागमा भएको प्रदर्शनका क्रममा ठूलो जनधनको क्षति भएको भन्दै सरकारका उच्च निकायका प्रतिनिधिहरूले संयमता अपनाउन अपिल गरेका छन्।

हिजोदेखि जारी आन्दोलनमा जनधनको क्षति भएको र धेरै नागरिकले ज्यान गुमाएको भन्दै दिवंगतप्रति श्रद्धाञ्जली अर्पण गर्दै पीडित परिवारप्रति गहिरो समवेदना व्यक्त गरिएको छ।

प्रधानमन्त्रीले राजीनामा स्वीकृत गरिसकेकाले थप जनधनको क्षति हुन नदिन आम नागरिकलाई संयमित हुन आग्रह गरिएको छ। राजनीतिक संवादमार्फत चाँडै शान्तिपूर्ण समाधान खोज्न सबैलाई अनुरोध गरिएको अपिलमा उल्लेख छ।

अपिलपत्रमा नेपाल सरकारका मुख्य सचिव एकनारायण अर्याल, प्रधान सेनापति अशोकराज सिग्देल, गृहमन्त्री गोकरणमणि दुवाडी, सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल, नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुवेर खापुङ र राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापाको हस्ताक्षर रहेको छ।

अपिलमार्फत देशभर बढ्दो अस्थिरतालाई तत्काल शान्त पार्न र नागरिकको जीवन सुरक्षित राख्न सबै पक्षलाई जिम्मेवार बन्न आग्रह गरिएको छ।