काठमाडौं । जेनजी आन्दोलनमा १९ युवा मारिएपछि देश आन्दोलनमय भएको छ । मंगलबार बिहानैदेखि देशका ठाउँठाउँमा प्रदर्शन भइरहेको छ ।

सरकारले काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा कफर्यु लगाएको छ । तर पनि सडकमा जेनजीले नाराबाजी गरिरहेका छन् । जेनजीको आन्दोलनमा विभिन्न दलका शीर्ष नेताको घर टार्गेटमा परेको छ । कांग्रेस, एमाले, माओवादीका शीर्ष नेताहरूको घर सुरक्षित छैनन् ।

ADVERTISEMENT

प्रधानमन्त्री केपी ओलीको भक्तपुरको बालकोट निवास र झापाको दमकमा रहेको घर टार्गेटमा परेको छ । सोमबार दिउँसो नै बालकोटतिर बढेका आन्दोलनकारीलाई प्रहरीले मनोहरा खोलाबाटै फर्काएका थिए । सोमबारै दमकमा पनि ओलीको घरमा ढुंगामुढा गरिएको थियो ।

मंगलबार बिहानै ललितपुरको सुनाकोठीस्थित सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरूङको घरमा ढुंगामुढा भएको छ। मंगलबार बिहान केही युवाले ढुंगामुढा गरेका हुन्। ललितपुर प्रहरीका एसपी चक्रराज जोशीले अवस्था नियन्त्रणमा आइसकेको बताए। प्रदर्शनकारीले ललितपुरको हात्तीवनस्थित प्रहरी कार्यालय पनि तोडफोड गरेका छन्।

ADVERTISEMENT

यस्तै, कांग्रेस सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवास वरपर अहिले जेनजीले नाराबाजी गरिरहेका छन् । सुरक्षाकर्मीले उनीहरूलाई घेरेर राखेका छन् ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको खुमलटारस्थित निवासमा आन्दोलनकारीले ढुंगामुढा गरेका छन् । प्रचण्डको घर जाने प्रहरीको बिट आन्दोलनकारीले जलाएका छन् ।

आन्दोलनकारी प्रधानमन्त्री ओलीले पदबाट राजीनामा नदिएसम्म रोकिने मनस्थितिमा देखिएका छैनन् । जिल्ला जिल्लामा सुरु भएको आन्दोलनले यस्तो संकेत गरेको हो ।