काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा युवा नेता प्रदीप पौडेलले तत्काल पार्टी सरकारबाट फिर्ता हुनुपर्ने बताएका छन् । महामन्त्री थापाले सार्वजनिक रूपमै सो धारणा राखेका छन् । शर्मा र पौडेलले भने नेताहरूसँग आफ्नो धारणा राख्दै आएका छन् ।

पौडेल अहिले केपी ओली नेतृत्वको सरकारमा स्वास्थ्यमन्त्री छन् । उनले पार्टीले निर्णय नगरे आजै पद छाड्ने बताएका छन् । ‘कांग्रेसले औपचारिक रूपमा सरकारबाट फिर्ता हुने निर्णय गरोस् भन्ने पक्षमा छु । यदि पार्टीले ढिलाइ गरेमा आजै पद छाड्छु,’ पौडेलले वृत्तान्तन्यूजसँग भने ।

ADVERTISEMENT

महामन्त्री थापाले पार्टी निर्णय गराएर सरकारबाट फिर्ता हुने बताए । ‘म पार्टीले औपचारिक निर्णय गरोस् भन्ने पक्ष््रामा छु । पार्टी सभापतिलाई पनि यो कुरा भन्दै आएको छु । यदि पार्टीले संस्थागत निर्णय गरेर भने व्यक्तिगत विद्रोह गर्नुपर्ने अवस्था पनि आउन सक्छ,’ थापाले भने ।

ADVERTISEMENT

अर्का महामन्त्री शर्माले पनि अहिलेको अवस्थामा कांग्रेस सरकारमा रहिरहनुको औचित्य समाप्त भएको बताए । ‘जेनजीमाथि जुन प्रकारको नरसंहार भयो, यो इतिहासमै नभएको घटना हो । यस्तो सरकारको साझेदार भएर कांग्रेस बस्नु हुँदैन,’ शर्माले भने, ‘पार्टीले निर्णय नगरेमा विद्रोह हुन्छ ।’

जेनजीले सोमबार गरेको आन्दोलनमा राज्यले दमन गर्दै १९ युवाको हत्या गरेको थियो । जुन घटनालाई लिएर अहिले देश नै आन्दोलित छ । त्यही भएर कांग्रेसका युवा नेताहरूमाथि सरकार छाड्न दबाब बढेको हो ।