काठमाण्डौ । जेन जी पुस्ताले सोमबार भ्रष्टाचार, बेथिति र सामाजिक सञ्जाल बन्दको विरोधमा राजधानीमा गरेको विरोध प्रदर्शन हिंसात्मक बनेको छ। नयाँबानेश्वर क्षेत्रमा दिनभर तनावपूर्ण अवस्था सिर्जना भएको थियो।

प्रदर्शनको क्रममा प्रहरी र प्रदर्शनकारीबीच भएको झडपका कारण देशका विभिन्न अस्पतालमा उपचारका क्रममा १८ जनाभन्दा बढीको मृत्यु भएको र सयौं घाइते भएको प्रहरीले पुष्टि गरेको छ। घाइतेमध्ये धेरैजना गम्भीर अवस्थामा रहेको बताइएको छ।

दिनभर जारी तनावपछि साँझतिर नयाँबानेश्वर क्षेत्र केही शान्त देखिएको छ। तर स्थानीयवासीले अझै त्रास र असुरक्षाको अनुभव भइरहेको बताएका छन्।

सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णय र भ्रष्टाचारविरुद्धको आक्रोशलाई लिएर जेन जी पुस्ताले प्रदर्शन सुरु गरेको थियो। प्रदर्शन हिंसात्मक बन्दै जाँदा राजधानीको मुख्य क्षेत्र पूर्णतया अवरुद्ध बनेको थियो।

सुरक्षा निकायले अवस्था नियन्त्रणमा ल्याउन ठूलो संख्यामा प्रहरी परिचालन गरेको थियो। यद्यपि, मृत्यु र घाइतेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।