काठमाडौं । नेपाल आर्ट एण्ड कल्चर फेस्टिभल २०२५ अन्तर्गत सुरु भएको ‘रुट्स एण्ड रिफ्लेक्शन’ प्रदर्शनीमा पहिलो दिनमै ठूलो संख्यामा अवलोकनकर्ता पुगेका छन्।

बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा ६ गतेदेखि सर्वसाधारणका लागि खुला गरिएको यो प्रदर्शनीमा बिहानदेखि बेलुकीसम्म अविरल रूपमा दर्शक-दर्शकको आगमन रह्यो।

ADVERTISEMENT

यसअघि ५ सेप्टेम्बरमा भएको उद्घाटन समारोहमा राष्ट्रपत‍ि रामचन्द्र पौडेलले प्रदर्शनीको औपचारिक उद्घाटन गरेका थिए। उक्त दिन विशेष अतिथिहरूका लागि मात्र राखिएको कार्यक्रमअन्तर्गत विविध कला तथा सांस्कृतिक प्रस्तुतिहरूसमेत भएको थियो।

‘रुट्स एण्ड रिफ्लेक्शन’ प्रदर्शनीले कलाकार र दर्शक दुवैलाई आत्मअन्वेषण गर्ने, व्यक्तिगत अनुभव र सामूहिक सांस्कृतिक यात्रामाथि विचार गर्ने अवसर प्रदान गर्ने उद्देश्य राखेको छ। यस अवधारणा अन्तर्गत व्यक्तिगत कथन र राष्ट्रिय सांस्कृतिक धरोहरबीच सम्बन्ध गाँस्दै गहिरो चिन्तन र संवादलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ।

ADVERTISEMENT

करिब १५४ जना कलाकारका २७३ वटा कलाकृतिहरू प्रदर्शनीमा प्रस्तुत गरिएका छन्। चित्रकला, मूर्तिकलालगायतका विविध माध्यमका सिर्जनाहरूले नेपालकै सांस्कृतिक जरा र बदलिँदो यथार्थलाई प्रतिबिम्बित गरेका छन्।

प्रमुख क्युरेटर स्वोस्ती राजभण्डारी कायस्थाले ‘रुट्स एण्ड रिफ्लेक्शन’लाई कलाकार र दर्शक दुवैका लागि आत्मपरीक्षण गर्ने बाटोका रूपमा व्याख्या गरेकी छन्। ‘व्यक्तिगत अनुभूति र सामूहिक सांस्कृतिक चिन्तनलाई जोड्ने प्रयास हो यो प्रदर्शनी, उनले भनिन्। क्युरेटोरियल टोलीमा आयुषा श्रेष्ठ, रजनी सिंखवाल, रश्मि मानन्धर र सुभिना शिल्पकला पनि संलग्न छन्।

६ देखि २७ सेप्टेम्बरसम्म चल्ने प्रदर्शनी बिहान १०:३० बजे देखि बेलुकी ५:३० बजेसम्म निःशुल्क अवलोकन गर्न सकिनेछ। प्रदर्शनीसँगै काठमाडौं शहरभर विभिन्न कला, संस्कृति, भान्सा र सम्पदासम्बन्धी गतिविधिहरू पनि आयोजना भइरहेका छन्।