काठमाडौं । ललितपुरको हरिसिद्धिस्थित घुम्तीमा शनिबार जेब्राक्रस नजिकै पैदल हिँडिरहेकी ११ वर्षकी उषा मगरलाई ठक्कर दिएर भागेका कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगर र चालकलाई उन्मुक्ति दिइएको छ ।

यो घटनालाई लिएर अहिले सामाजिक सञ्जाल र मिडियामा चर्को आलोचना भइरहेको छ । खासगरी प्रधानमन्त्री केपी ओलीले घटनालाई सामान्य भनेपछि जनआक्रोश बढेको छ ।

ADVERTISEMENT

सवारी दुर्घटनामा ठक्कर दिएर भाग्नु (हिट एन्ड रन) गम्भीर अपराध मानिन्छ। नेपालको सवारी ऐनमा ‘हिट एन्ड रन’बारे थप कानुनी प्रावधान छैन। यसलाई लापरबाहीबाट दुर्घटना गराएको मानिन्छ, जसमा आठ वर्षसम्म कैद सजाय हुनसक्छ। तर ललितपुरको प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र घाइते बालिकाको परिवारबीचको छलफलमा मन्त्री मगरले लिखित रूपमा माफी माग्ने र बालिकाको सबै उपचार गर्ने सहमतिपछि दुर्घटना मुद्दा प्रक्रियामा नगई सहमतिमा टुंगिएको छ । प्रदेश मन्त्री मगरले पीडित बालिकाको परिवारसँग माफी माग्दै उपचारको सबै खर्च बेहोर्दै थप २० हजार रुपैयाँ दिएका थिए।

ADVERTISEMENT

घटनास्थलको भिडियो हेर्दा मन्त्री सवार गाडीले जेब्रा क्रसमा बाटो पार गर्न लागेकी बालिकालाई ठक्कर दिन्छ, तर गाडी रोकिँदैन र सडकमा लडिरहेकी बालिकालाई छलेर अगाडि बढ्छ। यो घटनालाई लिएर शनिबार बिहानदेखि नै मन्त्री सवार गाडी नै ‘हिट एन्ड रन’ अर्थात् ठक्कर दिएर भागेको भनेर सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ।

तर मन्त्री मगरले यसलाई सामान्य मानेका छन् । आफूहरूलाई ज्यानको जोखिम भएकाले भागेको उनको भनाइ छ । ललितपुरको हरिसिद्धिस्थित घुम्तीमा दुर्घटनापछि मन्त्री सवार गाडी बाँडेगाउँमा रहेको प्रहरी कार्यालय पुगेको थियो। चालक र गाडी त्यही राखेर मन्त्री एमालेको विधान अधिवेशनमा गएका थिए।

ADVERTISEMENT

बालिकालाई उपचारका लागि बिएण्डबी अस्पताल लगियो। प्रारम्भमा घटना सार्वजनिक भएको थिएन। मन्त्रीको गाडीले जेब्राक्रस नजिकै बालिकालाई ठक्कर दिएपछि नरोकी भागेको सिसिटिभी फुटेज नै बाहिरिएपछि विरोध सुरु भयो।

सिसिटिभी फुटेजमा मन्त्रीको गाडीले हिर्काएपछि सडकमा लडेकी बालिकाको वास्तै नगरी गाडी भागेको र सडकमा रहेको अर्को बाइकमा रहेकाले रोकेर बालिकालाई उठाएको देखिन्छ। त्यसपछि बालिकालाई उपचारका लागि अस्पताल लगियो। स्थानीयले कारबाहीको माग गर्दै सडक अवरुद्ध गरेका थिए ।