काठमाडौं। नेपालकै अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपेले आज आयोजित एक विशेष समारोहमा सिटीपेलाई आफ्नो इकोसिस्टममा औपचारिक रूपमा समावेश गरेको छ। सहमतिपत्र हस्ताक्षरसँगै, सिटीपे फोनपे नेटवर्कमा आबद्ध हुने दशौँ डिजिटल वालेट बनेको छ। अब सिटीपे प्रयोगकर्ताले देशभरका १७ लाखभन्दा बढी व्यापारिक स्थलहरूमा उपलब्ध फोनपे क्यूआर नेटवर्कमार्फत सजिलै भुक्तानी गर्न सक्नेछन्। हाल फोनपेले ६० भन्दा बढी बैंक तथा वित्तीय संस्था र डिजिटल वालेटहरूलाई एकीकृत गर्दै सुरक्षित र छरितो डिजिटल कारोबार सुविधा प्रदान गरिरहेको छ।
समारोहमा फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमारले भने, “सिटीपे फोनपेको इकोसिस्टममा आबद्ध हुनु हाम्रो यात्राको ऐतिहासिक उपलब्धि हो। प्रत्येक नयाँ एकीकरणले फोनपेलाई अझ मजबुत र समावेशी बनाउँछ। हाम्रो उद्देश्य केवल वालेट वा बैंकलाई जोड्नु मात्र होइन, हरेक व्यक्ति र व्यवसायलाई डिजिटल भुक्तानीको सहजता र यसप्रति भरोसा दिलाउनु हो।” त्यस्तै, सिटीपेका प्रमुख कार्यकारी अधिकृत विनय रेग्मीले भने, “यो साझेदारी केवल प्रविधिमा सीमित छैन, यसले लाखौँ रेमिट्यान्स लाभग्राहीलाई सशक्त बनाउनेछ। फोनपे र सिटीपे मिलेर प्रयोगकर्तालाई देशभर सहज, सुरक्षित र छरितो कारोबारको अनुभव प्रदान गर्नेछन्।”
यस अवसरलाई विशेष बनाउन सिटीपेले दशैं–तिहार लक्षित योजना सार्वजनिक गरेको छ। भदौ १७ देखि कार्तिक १६ सम्म फोनपे क्यूआरमार्फत कारोबार गर्ने प्रयोगकर्तामध्ये भाग्यशाली चिट्ठामार्फत दुई जनाले सामसुङ ब्रान्ड टिभी जित्ने अवसर पाउनेछन्। विजेताको नाम हरेक महिनामा सार्वजनिक गरिनेछ। साथै, रु. ५०० भन्दा बढीको क्यूआर कारोबारमा २० रिवार्ड प्वाइन्ट दिने घोषणा गरिएको छ, जसलाई प्रयोगकर्ताले कम्पनीको नीतिअनुसार नगद वा अन्य सुविधामा रूपान्तरण गर्न सक्नेछन्।
सिटीपेको समावेशीकरणसँगै फोनपेले नेपालको डिजिटल भुक्तानी प्रणालीलाई अझ मजबुत बनाउन सहयोग गर्ने विश्वास व्यक्त गरिएको छ। नेपाल नगदरहित अर्थतन्त्रतर्फ तीव्र गतिमा अघि बढिरहेका बेला यस्ता सहकार्यहरूले वित्तीय समावेशिता र डिजिटल कारोबारलाई थप गति दिने अपेक्षा गरिएको छ।





