काठमाडौँ । सन् २०२५ को अगष्टमा ८८ हजार ६८० पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार गत वर्षको तुलनामा यस वर्षको अगस्तमा २२ प्रतिशत विन्दुले पर्यटक आगमनमा वृद्धि भएको देखिएको छ ।
बोर्डको तथ्यांकअनुसार नेपाल आएका पर्यटकमध्ये भारतबाट ३५ हजार ५०५ अर्थात् ४० प्रतिशत पर्यटक भित्रिएका छन् । चीनबाट सात हजार ५३३ अर्थात् ८.५, अमेरिकाबाट ६ हजार ६८ अर्थात् ६.८ प्रतिशत, श्रीलंकाबाट पाँच लाख ९५६ अर्थात् ६.७ प्रतिशत र बंगलादेशबाट चार हजार २६२ अर्थात् ४.८ प्रतिशत पर्यटक भित्रिएका छन् ।
सन् २०२५ को जनवरीदेखि अगस्तसम्म आठ महिनाको अवधिमा सात लाख ३६ हजार ५६२ पर्यटक भित्रिएका छन् । बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार क्षेत्रगत रुपमा हेर्दा दक्षिण एसियाली (सार्क) मुलुकबाट ४७ हजार १३७ पर्यटक अर्थात् ५३ प्रतिशत आगमन भएको देखिन्छ ।
एसियाका अन्य मुलुकमा १५ हजार ७७७ अर्थात् १७.८ प्रतिशत, युरोपबाट ११ हजार १३२ अर्थात् १२.६ प्रतिशत र ओसनियाबाट दुई हजार ४३५ अर्थात् २.७ प्रतिशत पर्यटक भित्रिएका छन् ।
अमेरिकाबाट सात हजार २९३ अर्थात ८.२ प्रतिशत, मध्यपूर्वबाट ९४४ अर्थात् १.१ प्रतिशत, अफ्रिकाबाट ३२२ अर्थात् ०.४ प्रतिशत र अन्य मुलुकबाट तीन हजार ६४० अर्थात् ४.१ प्रतिशत पर्यटक आगमन भएको छ ।
सन् २०२५ को जुलाईमा ७० हजार १९३ पर्यटक भित्रिएका थिए । कोरोना महामारीले थला परेको नेपालको पर्यटन क्रमशः पुनरुत्थानका क्रममा रहेको बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले बताए । ‘भारतबाट एयर इन्डिया एक्सप्रेस थपिँदा पनि भारतबाट आउने पर्यटकको सङ्ख्या वृद्धि भएको देखिएको छ । अबको अवधि निरन्तर पर्यटक आगमन वृद्धि हुनेमा आशावादी छौं,’ उनले भने ।







