काठमाडौँ।  नेपाल पर्यटन बोर्ड र वाकायामा प्रिफेक्चर, जापानबीच पर्यटन सहकार्यसम्बन्धी समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ। पर्यटन कूटनीतिलाई सुदृढ बनाउने उद्देश्यले भृकुटीमण्डपस्थित बोर्डको सभाहलमा आयोजित कार्यक्रममा उक्त समझदारी भएको हो।

समझदारीपत्रमा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी र वाकायामा प्रिफेक्चरका गभर्नर इजुमी मियाजाकीले हस्ताक्षर गरे। सम्झौताअनुसार दुवै पक्षले संयुक्त पर्यटन प्रवर्द्धन तथा मार्केटिङ, सूचना र उत्कृष्ट अभ्यास आदान–प्रदान, विज्ञ तथा अधिकारीहरूको भ्रमण आदान–प्रदान, सञ्चार तथा जनसम्पर्क सहकार्य तथा दिगो र सांस्कृतिक रूपमा सम्मानजनक पर्यटन प्रवर्द्धनमा सहकार्य गर्नेछन्।

ADVERTISEMENT

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षका सन्दर्भमा भएको सहकार्यले दिगो र उत्तरदायी पर्यटन विकासमा टेवा पुग्ने बताए। उनका अनुसार दुवै देशले सांस्कृतिक सम्पदालाई उच्च महत्व दिँदै आएका छन् र यस सहकार्यले द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले नेपाल–जापानबीचको दीर्घकालीन सम्बन्ध स्मरण गर्दै यस समझदारीलाई पर्यटन प्रवर्द्धनका लागि महत्वपूर्ण कदमका रूपमा उल्लेख गरे। हिमालयको देश तथा बुद्ध जन्मस्थलका रूपमा परिचित नेपालका लागि बजार विविधीकरणको दृष्टिले पनि यो सहकार्य उपयोगी हुने उनको भनाइ थियो।

ADVERTISEMENT

वाकायामा प्रिफेक्चरका गभर्नर इजुमी मियाजाकीले इतिहास र संस्कृतिले समृद्ध नेपालसँग सहकार्य गर्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिए। उनका अनुसार यस समझदारीले नेपाल र वाकायामाबीच पर्यटन प्रवर्द्धन थप सुदृढ हुने विश्वास लिइएको छ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत जोशीले जापानलाई नेपालको महत्वपूर्ण स्रोत बजारमध्ये एकका रूपमा उल्लेख गर्दै पछिल्लो समय जापानी पर्यटक आगमनमा करिब आठ प्रतिशत वृद्धि भएको जानकारी दिए।

समझदारी हस्ताक्षरको मितिदेखि लागू हुने र आपसी सहमतिका आधारमा कार्यान्वयन गरिने जनाइएको छ। सहकार्यका गतिविधि समन्वयका लागि दुवै पक्षले सम्पर्क विन्दु तोक्ने तथा खर्च आ–आफ्नै रूपमा व्यहोर्ने व्यवस्था गरिएको छ। कानुनी रूपमा बाध्यकारी नभए पनि पारस्परिक विश्वास र सहमतिमा आधारित यो समझदारीले नेपाल–जापान सम्बन्धलाई पर्यटनमार्फत थप मजबुत बनाउने अपेक्षा गरिएको छ।