काठमाडौं ।आगामी दसैँ पर्वलाई लक्षित गरी नेपाल राष्ट्र बैंकले भदौ २९ गतेदेखि असोज १० गतेसम्म सुकिला नोट साट्न पाइने व्यवस्था गरेको छ। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका अनुसार नोट सटही थापाथलीस्थित विभागको कार्यालयसँगै विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीस्थित प्रदेश कार्यालयमार्फत गरिनेछ।
त्यसैगरी, इजाजत प्राप्त क, ख, र ग वर्गका बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरूबाट पनि कारोबारको समयमा सर्वसाधारण तथा संघसंस्थाले सुकिला नोट साट्न सक्ने व्यवस्था गरिएको छ। यस वर्ष पनि प्रत्येक व्यक्तिले अधिकतम १८ हजार ५ सय रुपैयाँसम्म सुकिला नोट साट्न पाउनेछन्। यसअन्तर्गत ५, १०, २०, ५० र १०० रुपैयाँ दरका नोट रहने व्यवस्था छ।
नेपालमा पहिलेदेखिनै दशैँमा सुकिला नोट वितरण गर्ने परम्परा रहँदै आएको थियो । तर, राष्ट्र बैंकले यसले १.३ खर्बको वित्तीय भार थप्ने भन्दै अघिल्लो वर्षदेखि दशैँ लक्षित नयाँ नोट छपाइ बन्द गरेको हो। यसै गरि राष्ट्र बैंकले नोटहरुको अत्यधिक दुरुपयोगका कारण हुने खर्चले देशलाई वार्षिक करिब रू.८४ करोडको नोक्सानी भैरहेको अनुमान गरेको छ।





