काठमाडौं । सरकारले आगामी भदौ ३० गतेदेखि चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन गर्ने भएको छ । चाडपर्वमा बजारमा दैनिक उपभोग्य वस्तुको खपत धेरै हुने हुदा उपभोक्तालाई सहुलियत  दिन सुपथ पसल सञ्चालन गर्न लागिएको हो ।
सरकारको पूर्ण स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत भदौ ३० देखि कात्तिक १० गतेसम्म सहुलियत पसल सञ्चालन गर्न लागिएको हो ।

दशैं, तिहार र छठ पर्वमा खाद्यवस्तुको धेरै खपत हुने हुँदा उपभोक्ता नठगिउन् भन्ने उद्देश्यले रहेक वर्ष सरकारले सहुलियत सञ्चालन गर्दै आएको छ । यसैको निरन्तरता स्वरुप यस वर्ष पनि सहुलियत पसल सञ्चालन गर्ने तयारी भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यले जानकारी दिए । कम्पनीले यस वर्ष देशभर ४५ जिल्लाका १ सय ११ वटा स्थानमा सहुलियत पसल सञ्चालन गर्ने तयारी गरेको छ ।

यस्तै, १०१ वटा स्थानीय तहसँग सहुलियत पसल सञ्चालनका लागि सम्झौता गर्ने तयारी छ । आवश्यकता अनुसार थप जिल्ला र स्थानहरुमा पनि सहुलियत पसल सञ्चालन गर्न सकिनेछ । निस्शुल्क होम डेलिभरी र घुम्ती सेवाको माध्यमबाट समेत सहुलियत र छुट दिई उपभोक्तामा सेवा पुर्‍याउने आचार्यले जानकारी दिए ।

कम्पनीका बिक्रीवितरण शाखा प्रमुख भीमबहादुर थापाले सहुलियत पसल सञ्चालनका लागि सरकारले २ करोड ५२ लाख पैयाँ दिएको जानकारी दिए । गत वर्ष कम्पनीलाई सरकारले सहुलियत पसल सञ्चालनका लागि करिब ३ करोड बजेट दिएको थियो ।

कम्पनीले भने ५ करोड रुपैयाँ माग गरेको थियो । गत वर्ष ३ करोड बजेट दिँदा सबै खर्च गर्न नसकेको र सरकारसँग पर्याप्त बजेट पनि नहुँदा यस पटक सहुलियत पसल सञ्चालन गर्न बजेट कम गरेको हुन सक्ने थापाको भनाइ छ ।

यस वर्ष कम्पनीले सबै प्रकारका चामल र गहुँमा प्रतिकिलो ५ रुपैयाँ छुट दिनेछ भने चिनी र गेडागुडीमा ५ रुपैयाँ, चिउरा, आँटा, पिठो, मैदा र खाने तेलमा ७ रुपैयाँ छुट दिने निर्णय गरेको छ । यसैगरी चियापत्ती, जिरा–धनिया र रैथाने खाद्य वस्तु  कर्णालीको सिमी, फापर, चिनो, कागुनो, उवा, जुम्ली मार्सी, बासमती जिउँदो खसीबोका र च्यांग्रामा प्रतिकिलो १० रुपैयाँ छुट दिने कम्पनीले निर्णय गरेको थापाले जानकारी दिए ।

गत वर्ष कम्पनीले ४२ जिल्लाका ६२ स्थानमा सहुलियत पसल सञ्चालन गरेको थियो । चाडपर्वको समयमा खाद्य कम्पनी, साल्ट ट्रेडिङ र दुग्ध विकास संस्थानमार्फत सहुलियत पसल सञ्चालन हुँदै आएका छन् । यस्ता पसल दशैं, तिहार र छठ पर्वसम्म सञ्चालन हुनेछन् । गत वर्ष कम्पनीले सबैखाले चामल र दालमा प्रतिकिलो ५ रुपैयाँ छुट दिएको थियो ।

यसैगरी पिठो, मैदा, तेल, चिनी र चिउरामा प्रतिकिलो ७ रुपैयाँ, कर्णालीको सिमी, गेडागुडी, दाल, चिनो, कागुनो र उवालगायत रैथाने बालीमा प्रतिकिलो ७ रुपैयाँ छुट दिइएको थियो । जिउँदो खसीबोका र डीडीसीका उत्पादनमा १० रुपैयाँ प्रतिकिलो छुट थियो । विगतको जस्तै यस पटक पनि पिठो, मैदा, तेल, चिनी, चिउरा, कर्णालीको सिमी, गेडागुडी, दाल लगायतका वस्तुमा सरकारको निर्णय अनुसार छुट दिइने कम्पनीले जनाएको छ ।

यसैगरी साल्ट ट्रेडिङले गत वर्ष सरकारको निर्णयअनुसार विभिन्न खाद्य सामग्री ५ देखि ७ रुपैयाँसम्म छुटमा बिक्री गरेको थियो ।

दुग्ध विकास संस्थानले घिउ र पनिरमा छुट दिने गरेको थियो । गत वर्ष संस्थानले घिउमा प्रतिकिलो ५० रुपैयाँ र पनिरमा २० रुपैयाँ छुट दिएको थियो । साल्ट ट्रेडिङले चिनीमा ५ रुपैयाँ र नुनमा २ रुपैयाँ छुट दिने गरेको थियो ।