काठमाडौं । थापागाउँस्थित मण्डला थिएटरमा प्रसिद्ध नाटककार सरूभक्तको लोक नाटक ‘सिरुमारानी’ को पुनः मञ्चन भएको छ।

भदौ ११ गतेदेखि नियमित मञ्चन भएको ‘सिरुमारानी’ लाई आजभन्दा २३ वर्षअघि अनुप बरालले निर्देशन गरेर राष्ट्रिय नाचघरमा मञ्चन गरेका थिए। जसमा अहिलेका चर्चित अभिनेता दयाहाङ राईले आफ्नो रंगकर्मको पहिलो अभिनय गरेका थिए।

ADVERTISEMENT

संयोग नै भनौ, त्यसको करिब १२ वर्षपछि २०७२ सालमा दयाहाङ राईको निर्देशनमा यही नाटक अनामनगरस्थित मण्डला थिएटरमा मञ्चन गरिएको थियो। जसमा अहिलेका अर्का चर्चित अभिनेता विजय बरालसहित अनुप न्यौपाने, सोमनाथ खनाललगायतले आफ्नो क्यारियरको पहिलो अभिनय गरेका थिए।

अनामनगरको मण्डलामा मञ्चन गरिएको १० वर्षपछि फेरि ‘सिरुमारानी’ थापागाँउस्थित मण्डला थिएटरमा अनुप न्यौपाने र सुमित्रा पेहिमको निर्देशनमा मञ्चन हुँदैछ। अहिलेको मञ्चनमा मण्डला थिएटर ल्याबको १७औँ ब्याचका ३३ विद्यार्थीहरूले पनि आफ्नो क्यारियरको पहिलो अभिनय गरेका छन्।

ADVERTISEMENT

असोज ५ सम्म निरन्तर मञ्चन हुने ‘सिरुमारानी’ एक साहसी नारीको कथा हो। जसमा मानवीय संवेदना, अहम, विद्रोह र आशाको पनि कथा बुनिएको छ। नाटकमा एउटी नारीले आफ्नो नारित्वको रक्षा गर्न गरेको संघर्ष, अहम्, लोभ र शक्तिको उन्मादले ग्रसित संरचनाको क्षणभङ्गुरताको कथा बुझाउन खोजिएको छ।

नाटकमा सायुज्य भण्डारी, चाँदनी श्रेष्ठ, सुस्मिता श्रेष्ठ, सहिष्मा खड्का, तरुण देउवा, सुजन घिमिरे, अमृत सुनारसहित ३३ जना प्रशिक्षार्थी कलाकारको अभिनय छ। नाटक सोमबारबाहेक हरेक साँझ ५ः१५ बजे र शनिबार दिउँसो १ः१५ बजे अतिरिक्त शो मञ्चन हुनेछ।