काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजार बढेको छ । तीन कारोबार दिन लगातार घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २१.३० अंकले बढेर २७६१.२६ बिन्दुमा पुगेको छ ।

सोमबार १८२ कम्पनीको सेयर मूल्य बढ्दा ६८ कम्पनीको सेयर मूल्य घटेको छ । ३१७ कम्पनीको एक करोड कित्ता सेयर किनबेच हुँदा पाँच अर्ब ७५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जबकि अघिल्लो दिन सेयर कारोबार साढे ६ अर्ब बराबर भएको थियो ।

आज सबैभन्दा धेरै नेपाल रिइन्स्योरेन्स कम्पनीको ७६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै, हिमालयन रिइन्स्योरेन्सको २३ करोड, हिमालयन डिस्टीलरीको २० करोड, राधी विद्युत कम्पनीको १७ करोड र छिमेकी लघुवित्तको १७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

दुईवटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । नारायणी डेभलपमेन्ट बैंक र विकास हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।