काठमाडौँ । उखुको अनुदानलाई निरन्तरता दिन माग गर्दै देशभरका अगुवा उखु किसान सङ्घीय राजधानी काठमाडौँ पुगेका छन् । सरकारले चालु आर्थिक वर्ष २०८२\८३ को बजेटमा उखुको अनुदानका लागि बजेट विनियोजन नगरेपछि उखु किसान असन्तुष्ट छन् ।

किसानले दुई साताअघि आआफ्नो जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापनपत्र बुझाउँदै साउन महिनाभित्र अनुदान रकमबारे निर्णय गर्न समय दिएका थिए ।

सरकारले यसबारे निर्णय गर्न चासो नदेखाएपछि सर्लाही, महोत्तरी, रौतहट, बारा, सिराहा, सुनसरी, नवलपरासी, कञ्चनपुरलगायत उखु खेती हुने प्रत्येक जिल्लाका अगुवा उखु किसान काठमाडौँ केन्द्रित आन्दोलनको तयारीका लागि भेला भएका हुन् । उखु किसानका अगुवाले शुक्रबार चिनी उद्योगका मालिकसहित पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमाले का महासचिव शङ्कर पोखरेललाई भेटेर उखु किसानको पीडा सम्बोधनका लागि आग्रह गरेका छन् ।

ADVERTISEMENT

आफूहरूले प्रधानमन्त्रीलाई नै भेटेर अनुदान रकम कटौतीका विषयमा कुरा राख्न चाहेकाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग समय मिलाइदिन नेकपा (एमाले) का महासचिव पोखरेलसँग आग्रह गरेको केन्द्रीय उखु किसान सङ्घर्ष समितिका सहसंयोजक राजकुमार उप्रेतीले जानकारी दिए ।

ADVERTISEMENT

आगामी सोमबारतिर प्रधानमन्त्रीसँग भेट हुने सम्भावना रहेको र उहाँसँगको छलफलपछि पनि उखुको अनुदान रकम पाउने अवस्था नरहे भदौ दोस्रो साताबाट काठमाडौँको माइतीघरमा धर्ना सुरु गर्ने तयारी रहेको उप्रेतीले जानकारी दिए ।

ADVERTISEMENT

आन्दोलनका लागि देशभरबाट एक हजार उखु किसान उतार्ने र त्यसको तयारीका विषयमा छलफल अघि बढेको उखु किसानका अगुवाले बताएका छन् । उखु किसानले गत आव २०८१\८२ कै उखुको अनुदानसमेत प्राप्त गर्न सकेका छैनन् ।

गत वर्ष सरकारले उखु किसानलाई प्रतिक्विन्टल ७० रुपियाँका दरले अनुदान रकम प्रदान गर्ने निर्णय गरेको थियो । यस वर्षदेखि अनुदान रकम कटौती भएसँगै उखुको उत्पादन घट्दै जाने चिन्ता थपिएको छ ।