काठमाडौँ। मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीको खुद नाफा रु. १० करोड ५३ लाख पुगेको छ, जुन अघिल्लो आर्थिक वर्षको रु. २ करोड १७ लाखको तुलनामा करिब ३६२.५ प्रतिशतको वृद्धि हो। कम्पनीको यो उपलब्धिमा कुल आम्दानीमा भएको वृद्धि र खर्चमा गरिएको मितव्ययीता मुख्य कारक बनेको देखिन्छ। कम्पनीले अघिल्लो वर्षको तुलनामा नाफा र वित्तीय स्थायित्वमा उल्लेखनीय सुधार देखाएको छ।

आयमा वृद्धि
कम्पनीको सञ्चालन आम्दानी ८.४६ प्रतिशतले बढ्दै रु. ७२ करोड ४१ लाख पुगेको छ, जुन बिक्रीको परिमाणमा आएको वृद्धि र सञ्चालन दक्षताको परिणाम हो। कम्पनीको मुख्य आम्दानीको श्रोत बाहेकका स्रोतबाट आम्दानीमा उल्लेखनीय सुधार देखिँदै कुल आम्दानी रु. २५ करोड ६६ लाख पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ४७.२१% वृद्धि हो।
नाफा र सबल खर्च व्यवस्थापन
सबल ब्यबस्थापकीय क्षमता मार्फत कम्पनीले खर्चमा नियन्त्रण गर्दै कुल खर्च १४.५५% घटाएर रु. १३ करोड १९ लाखमा सीमित गरेको छ। यसले आम्दानीको ठूलो भाग नाफामा परिणत भएको देखिन्छ ।
लगानीकर्ताको प्रतिफल र बजारस्थिति
प्रति शेयर आम्दानी (EPS) रु. ३.११ बाट बढेर रु. १४.३६ पुगेको छ, जसले शेयरधनीको प्रतिफलमा सुधार भएको देखाउँछ। प्रति शेयर खुद मूल्य रु. १०९.०३ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा उल्लेखनीय वृद्धि हो। कम्पनीको मूल्य/आम्दानी अनुपात (P/E) १०४.१२ रहेको छ, जसले बजारमा कम्पनि प्रति विश्वास र भविष्यमा कम्पनीले गर्न सक्ने नाफा वृद्धि प्रति शेयरधनीको अपेक्षा झल्काउँछ।
पूँजीगत संरचना र इक्विटीको स्थिति
कम्पनीको शेयर पूँजी रु. ७० करोडमा स्थिर रहेको छ। अन्य इक्विटीमा अघिल्लो वर्षको ऋणात्मक रु. ४३.४० लाखबाट सकारात्मक सुधार हुदै रु. ६३.२१ लाख पुगेको छ, जसले सञ्चित आम्दानी र रिजर्भमा सुधार भएको देखाउँछ।

समग्रमा चुनौती र आगामी रणनीति
कुल आम्दानीमा वृद्धिसँगै खर्च घटाउन सक्ने क्षमता कम्पनीको प्रतिस्पर्धात्मकता र अनुकूलन क्षमताको प्रमाण हो। बलियो पुँजीगत स्थिति, उच्च EPS र खुद मूल्यका आधारमा कम्पनी दीर्घकालीन विस्तार र लगानी आकर्षणका लागि मजबुत अवस्थामा रहेको देखिन्छ ।
मुक्तिनाथ कृषि कम्पनीले आ.व. २०८१/८२ को चौथो त्रैमासिकमा आन्तरिक रूपमा उल्लेखनीय समस्या बेहोर्नु परेको छैन। तर बाह्य रूपमा, समग्र व्यवसायिक अवस्थाका कारण भुक्तानी जोखिम बढ्नु र सरकारी निकायबाट योजना अनुरूपका कार्यक्रम कार्यान्वयन नहुँदा लक्ष्य अनुसार व्यवसाय वृद्धि गर्न चुनौती सामना गर्नुपरेको छ। यी चुनौती न्यूनिकरणका लागि कम्पनीले संस्थागत साझेदारीद्वारा व्यवसाय प्रवर्द्धन, परियोजना तथा सेवामा प्राथमिकता दिई बजार आकार वृद्धि र जोखिम न्यूनीकरण, गर्दै नयाँ वस्तु र साझेदारको खोजी गर्ने रणनीति अपनाएको छ। संस्थागत सुशासनका लागि विभिन्न नीतिनियम, निर्देशिका र कार्यविधि प्रभावकारी रूपमा लागू गर्दै, नियमित समिति बैठक, आन्तरिक नियन्त्रण, पारदर्शी प्रक्रिया, र आन्तरिक लेखापरीक्षण प्रणाली अवलम्बन गरिएको बताएको छ ।







