काठमाडौं । सरकारले निकट भविष्यमै सञ्चालनमा आउने नागढुंगा सुरुङमार्गको उपभोग दस्तुर तोकेको छ । साउन २६ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रत्येकपटक आवतजावत गर्दा लाग्ने सवारी कर निर्धारण गरेको हो ।

जसअनुसार मिनी बस–ट्रक काठमाडौँ आउँदा ११५ रुपैयाँ र जाँदा ८० रुपैयाँ, बस तथा ट्रकको काठमाडौँ आउँदा २६० र जाँदा २०० रुपैयाँ दस्तुर तोकिएको छ । कार र भ्यानहरूको काठमाडौँ आउँदा ६५ रुपैयाँ र जाँदा ६० रुपैयाँ दस्तुर तोकिएको बिहीबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलन सरकारका प्रवक्तासमेत रहेका सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

ADVERTISEMENT

भारी उपकरण बोकेको गाडी काठमाडौं आउँदा ६०० र जाँदा २५० रुपैयाँ दस्तुर तोकिएको छ । सडक विभागका अनुसार सुरुङमार्गमा बाइक र टेम्पोजस्ता तीनपांग्रे सवारीसाधनलाई प्रवेश गर्न दिइनेछैन । यसैगरी, पेट्रोलियम पदार्थ बोकेका सवारीसाधनलाई पनि सुरुङमार्गमा प्रवेश निषेध हुनेछ । धेरै उचाइ भएका सवारीसाधनलाई पनि रोक लगाइनेछ । यसबाहेकका अन्य सवारीसाधन सुरुङमार्गमार्फत आउजाउ गर्न सक्नेछन् । त्यसका लागि उनीहरूले तोकिएको शुल्क तिर्नुपर्नेछ ।

हाल ९५ प्रतिशत भौतिक प्रगति रहेको सुरुङमार्ग आगामी मंसिरदेखि सञ्चालनमा आउने जानकारी दिइएको छ । प्रधानमन्त्री केपी ओलीले बुधबार संसदमा सम्बोधन गर्दै नागढुंगा सुरुङमार्ग निकट भविष्यमै सञ्चालनमा आउने बताएका थिए । सुरुङमार्ग चार किलोमिटर छ । काठमाडौंको नागढुंगाबाट धादिङको झ्याप्लेखोला पाँच मिनेटमै पुग्न सकिनेछ ।
पृथ्वी राजमार्गबाट काठमाडौं आवतजावत गर्ने सवारीसाधन तोकिएको शुल्क तिरेर यो सुरुङमार्ग प्रयोग गर्न सक्छन् । त्यसरी आवतजावत गर्नेमध्ये ६० प्रतिशत सवारीसाधनले सुरुङमार्ग प्रयोग गर्ने अनुमान गरिएको छ ।

ADVERTISEMENT