काठमाडौं । प्रधानमन्त्री केपी ओली संसद्लाई सामाजिक सञ्जालका लागि कन्टेन्ट क्रियट गर्ने थलो बनाइएको आरोप लगाएका छन् ।
अदालतले थुनामा पठाएका अभियुक्तमाथि राजनीतिक प्रतिशोध साँधिएको भनेर संसदमा कराउने र बहिष्कार गर्ने, ठूला दल र सरकारलाई अनेक लाञ्छना लगाएर हिँड्ने गरेको भन्दै ओलीले रास्वपामाथि कडा प्रतिवाद गरे ।
आफ्नो तुर्कमेनिस्तान भ्रमणको जानकारी दिन प्रधानमन्त्री ओलीले बुधबार प्रतिनिधिसभामा सम्बोधन गरेका हुन् । उनले संसदलाई प्रभावकारी बनाउन सत्ता पक्षको मात्र नभई विपक्षको पनि उत्तिकै महत्वपूर्ण योगदान रहेको बताए ।
प्रधानमन्त्री ओलीले नामै नलिई रास्वपा सभापति रवि लामिछाने र सांसद सुमना श्रेष्ठमाथि कटाक्ष गरे । भिजिट भिसामा अमेरिका गएर उतैको नागरिकता लिएर नत्यागी नेपाल आएर मन्त्रीसमेत बनेको, भिजिट भिसामै विदेश गएर दुई दुईवटा बिहे गरेर अहिले विमानस्थलबाट उड्ने जति सबै बेचिएको भन्ने भाष्य तयार पारेको भन्दै आक्रोश पोखे ।
‘संसद्, सरकार, न्यायालय लगायत आफ्नो काम गर्नु पर्ने लोकतान्त्रिक प्रणालीका सबैजसो अंगहरुलाई पेशेवर ‘मास म्यानुपुलेसन’को आक्रमणबाट वचाउनु पर्छ । लोकतान्त्रिक शक्तिहरुले यो काम गर्नै पर्छ । कतिसम्म भने भिजिट भिसामा विदेश गएर उतैको नागरिकता लिएर, उताको नागरिकता नत्यागी नेपाल फर्केर मन्त्रीसम्म भएका प्रमाणित अभियुक्तहरु र भिजिट भिसामा गएर उतै दुईदुई पटक बिहे गरिसकेका व्यक्तिहरुले समेत अन्तर्राष्ट्रिय विमानस्थलमा प्लेन चढ्ने सबै नागरिकलाई बेचिएको’ भन्ने भाष्य स्थापित गर्न खोजिरहेका छन् । यसका पछाडी मुलुक र नागरिकको हित जोडिएको छैन, यसले इमोसनल ब्ल्याकमेलिङ मार्फत आफ्नो स्वार्थको रोटी सेक्ने प्रवृत्ति मात्र उजागर गरेको छ ,’ उनले भने ।
ओलीले सहकारी ठगीमा रवि लामिछानेमाथि मात्रै प्रतिशोध साँधिएको भए अरु को कोलाई प्रतिशोध साँधिएको होइन भन्ने प्रतिप्रश्नसमेत गरे ।






