काठमाडौं । साझा यातायातले आगामी दशैमा थप १०० वटा विद्युतीय बस एकैपटक थप गर्दै छ । सरकारको ९९ प्रतिशत लगानी रहेको साझा यातायातको लागि एक सयवटा विद्युतीय बस उपलब्ध गराउने भनेर चालु आर्थिक वर्ष २०८२\८३ कै बजेट भाषणमै सम्बोधन भएको छ ।
अर्थमन्त्री विष्णु पौडेलले गत जेठ १५ गते सार्वजनिक गरेको बजेट बक्तव्यको २६६ नम्बर बुँदामा काठमामाडौं उपत्यकाको यातायात व्यवस्थालाई वातावरणमैत्री बनाउन साझा यातायातलाई थप १०० विद्युतीय बस उपलब्ध गराउने घोषणा गरेको छन् ।
सरकारी योजना अनुसार नै साझाले आर्थिक वर्षमै ती सवारी भित्र्याएर सेवा दिने गरी कार्ययोजना बनाएको जानकारी दिएको छ । सहरी यातायातमा ठूला विद्युतीय बसबाट सेवा दिनमा बलियो उपस्थिति बनाउन साझा सफल भएको छ ।
सार्वजनिक यातायातलाई विद्युतीयबाट सेवा दिने र सहरमा ठूला सवारी दौडाउने योजना अनुसार हाल ४० वटा गाडी सरकारले साझा यातायातमार्फत सञ्चालन गरिरहेको छ ।
हाल काठमाडौं उपत्यकाका विभिन्न ८ वटा रुटमा १११ वटा ठूला सार्वजनिक यातायात सञ्चालन गर्न सफल साझाले आगामी दशैं लक्षित नयाँ योजना बनाएको छ । यसमध्ये हाल ७१ वटा डिजेल र ४० वटा विद्युतीय बस साझासँग छ । साझाले दशैंको लागि थप बिजुली बस भित्र्याउने गरी योजना बनाइरहेको छ । सोही अनुसार तयारी भएको जानकारी दिएको छ।
साझा यातायातका अनुसार सरकारी योजना अनुसार नै आम नेपालीलाई सेवा दिन विद्युतीय सवारी थप हुँदै छ । ‘यसै वर्ष साझाले १४० वटा विद्युतीय बस सञ्चालन गर्ने भएको छ । थप भएका विजुली बस सबै काठमाडौंमा नै चल्ने छन् । साझाले ८ वटा रुटमा सेवा दिइरहेको छ । यसका रुट लामो भएकोले उपत्यका धेरै ठाउँमा साझा यातायात देखिइरहने गरेको छ ।’
साझा यातायात सेवामूलक भएकोले यसले विहान साढे ५ देखि रात्री ९र१० वजेसम्म सञ्चालन गर्छ । यसअघि रात्रीबस सञ्चालन गरेको भए पनि पूर्वाधारसहित विविध कारणले रोकिएको सेवा फेरि सुरुवात गर्ने र निरन्तरता दिने योजना पनि बनाएको साझा यातायातको भनाइ छ ।
साझा यातायातले हाल अपाङ्ग र ७० वर्ष माथिका जेष्ठ नागरिकलाई निःशुल्क सेवा दिइहेको छ भने विद्यार्थी परिचपत्र देखाएर यात्रा गर्नेको हकमा जुनसुकै रुटमा पनि १५ रुपैयाँमै सेवा दिइरहेको छ । सार्वजनिक सवारीमा टिकेट लिएर यात्रा गराउने काम साझाले मात्रै गर्दै आएको छ ।






