काठमाडौं । हरेक वर्ष १२ अगष्टमा मनाइने अन्तर्राष्ट्रिय युवा दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । ‘दिगो विकास र सुनौलो भविश्यको सारस् स्थानीय युवाको सहभागिता समृद्धिको आधार’ भन्ने मूल नाराका साथ दिवस मनाउन लागिएको हो ।
अन्तर्राष्ट्रिय युवा दिवस साताव्यापी कार्यक्रम गरी मनाइँदै आए पनि मूल समारोह आज आयोजना हुँदैछ । बिहान १० बजे भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा आयोजना हुने मूल समारोहलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्वोधन गर्ने कार्यक्रम छ ।
युवा दिवस मनाउन युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा २८५ संस्थागत सदस्यसहित मूल समारोह समिति र राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतको अध्यक्षतामा १७ सदस्यीय सचिवालय गठन गरिएको थियो ।
नेपालको संविधानमा उल्लेखित युवा सम्वन्धी व्यवस्थालाई कार्यान्वयन गर्न, युवा केन्द्रित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नीति र कानून निर्माणमा पैरवी गर्न, युवालक्षित मुद्दाहरूका सवालमा स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा सचेतना अभिवृद्धि गर्न उत्सवमय ढंगले अन्तर्राष्ट्रिय युवा दिवस मनाउने गरिएको छ ।












