काठमाडौं । नेपाल अतिकम विकसित देशको रुपमा सूचीकरण भएको ५५ वर्षपछि विकासशीलमा स्तरोन्नति हुने तयारीमा छ । पहिलो पटक २ मंसिर २०२८ मा संयुक्त राष्ट्रसंघको महासभाले प्रस्ताव पारित गरी नेपाललाई अतिकम विकसित मुलकको सूचीमा समावेश भएकोमा ८ मंसिर २०८३ मा यो सूचीबाट हट्नेछ ।
यसअनुसार आगामी १६ महिनामा नेपाल औपचारिक रुपमा अतिकम विकसित देशबाट विकासशीलमा स्तरोन्नति हुँदैछ । सूचीमा समावेश भएको ५५ वर्ष ६ दिनपछि स्तरोन्नति हुन लागेको हो ।
अहिले संसारका ४५ वटा अतिकम विकसित राष्ट्रहरुको समूहको नेतृत्व गरिरहेको नेपालसँगै छिमेकी बंगलादेश र लाओस पनि विकासशीलमा स्तरोन्नति हुँदैछन् । नेपाल अतिकम विकसित मुलुकबाट विकासशीलमा स्तरोन्नति हुन लामो समयदेखि प्रयत्नरत रहेको छ । ठोस रुपमा सन् २०१० देखि स्तरोन्नति हुने प्रयत्न सुरु भएको थियो । आवधिक योजना, बजेट तथा कार्यक्रममार्फत स्तरोन्नतिको प्रयास भएको हो ।
संयुक्त राष्ट्रसंघले सन् २०१५, २०१८ र २०२१ मा गरी तीन पटक गरेको त्रिवर्षीय समीक्षा मूल्यांकनमा मानव सम्पत्ति सूचकांक र आर्थिक तथा वातावरणीय जोखिम सूचकांकमा नेपालले प्रगति गरेको जनाएको थियो । तर, प्रतिव्यक्ति कुल राष्ट्रिय आयको सूचकांक भने यही वर्ष पूरा गर्यो ।
विकासशील राष्ट्रमा स्तरोन्नतिका लागि संयुक्त राष्ट्रसंघले निर्धारण गरेका तीनवटै मापदण्डमा नेपाल योग्य भइसकेको छ । पछिल्लो पटक सन् २०२४ मा भएको चौथो त्रिवर्षीय समीक्षामा पहिलो पटक प्रतिव्यक्ति कुल राष्ट्रिय आय सूचकांकको मापदण्ड नेपालले पूरा गरेको हो ।
यसअघिका तीनवटा त्रिवर्षीय समीक्षामा भने प्रतिव्यक्ति कुल राष्ट्रिय आयमा नेपालले निर्धारित सीमा पूरा गर्न सकेको थिएन । स्तरोन्नतिका लागि राष्ट्रसंघले तोकेको प्रतिव्यक्ति आयको सीमा ९थ्रेसहोल्ड० १ हजार ३०६ अमेरिकी डलर छ । अहिले नेपालको प्रतिव्यक्ति आय १ हजार ४०४ अमेरिकी डलर पुगेको छ ।







