काठमाडौं । वरिष्ठ कलाकार किरण मानन्धरको विशेष चित्रकला प्रदर्शनी काठमाडौंमा चलिरहेको छ । ठमेलस्थित म्युजियम अफ नेपाली आर्ट, काठमाडौं आर्ट हाउस, काठमाडौं गेष्ट हाउस र केजीएच पाटनमा एकसाथ प्रदर्शनी सुरु भएको हो ।

प्रदर्शनी सेप्टेम्बर महिनाको अन्त्यसम्म हरेक दिन बिहान १० बजेदेखि साँझ ६ बजेसम्म खुला हुनेछ। चार दशकभन्दा बढी समयदेखि चित्रकला यात्रामा क्रियाशील मानन्धरका सशक्त, आवेगपूर्ण, गहिरा र आत्मीय चित्रहरूले यो प्रदर्शनी भरिएको छ। प्रदर्शनी उनको सिर्जनात्मक यात्राको संक्षेप मात्र नभई एक दृश्यीय आत्मालोचनासमेत हो।

ADVERTISEMENT

‘प्रकाशमा उज्यालो देखाउने कुनै आवश्यकता हुँदैन। किरण मानन्धर आफैंमा उज्यालो हुन्,’ प्रदर्शनीका प्रमुख क्युरेटर राजन शाक्यले भने ।

नेपाली समकालीन चित्रकला क्षेत्रमा जीवन समर्पण गरेका कलाकार मानन्धरक लागि कला योजना होइन, आत्मप्रवाह हो। ‘म चित्रकलाका लागि बाँच्दछु, म आफैं चित्रकलाको अस्तित्व हुँ,’ उनले भने ।

ADVERTISEMENT

उनी स्मृति, आध्यात्मिकता, प्रकृति र आत्मसंवादबाट प्रेरणा लिन्छन्। मानन्धरका अनुसार कलाकारको उपस्थितिभन्दा पनि उनको अनुपस्थितिमा कला अझै बढी बोल्छ , किनभने कला स्वयं आत्माको आवाज हो। यो प्रदर्शनीले मानन्धरको कलालाई केवल ग्यालरीको भित्तामा मात्र होइन, दैनिकीका वस्तुहरूमा पनि सार्थक रूपमा प्रस्तुत गरेको छ।