काठमाडौं, साउन ६ – नेपालका अग्रणी औद्योगिक घराना मध्ये एक खेतान समूहले देशको प्रमुख डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी फोनपे प्रालिमा २० प्रतिशत शेयर खरिद गर्ने औपचारिक सम्झौता (MoU) गरेको छ। उक्त सम्झौताअनुसार खेतान समूहले फोनपेमा करिब १४० करोड रुपैयाँ बराबरको लगानी गर्नेछ।

फोनपे नेपालको ‘पेमेंट सिस्टम अपरेटर (PSO)’ हो जसले देशभरि क्यूआर कोड मार्फत भुक्तानी सेवा उपलब्ध गराउँदै आएको छ। अहिले फोनपेले करिब ८० प्रतिशत बजार हिस्सामा आफ्नो प्रभुत्व कायम गरेको छ। भारतसँगको युपिआई (UPI) एकीकृत प्रणालीमार्फत गरिने अन्तरदेशीय कारोबारहरू पनि यसैमार्फत सहज भएको छ। हालसम्म भारत–नेपालबीच १० लाखभन्दा बढी युपिआई कारोबार सम्पन्न भइसकेका छन्।

ADVERTISEMENT

सम्झौता अनुसार अहिले नेपाल राष्ट्र बैंकबाट “फिट एन्ड प्रॉपर” स्वीकृति लिन बाँकी रहेको जनाइएको छ। राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भए लगत्तै औपचारिक सेयर खरिद प्रक्रिया अघि बढ्नेछ।

ADVERTISEMENT

खेतान समूहले यो लगानीलाई ‘House Of Raj’ नामको आफ्नो लगानी संस्था मार्फत सञ्चालन गर्नेछ। यससँगै परम्परागत क्षेत्रजस्तै बियर, चिया, औद्योगिक उत्पादन र बित्तीय सेवा क्षेत्रमा केन्द्रित खेतान समूह अब डिजिटल फिनटेक क्षेत्रमा पनि प्रवेश गर्ने तयारीमा देखिएको छ।

फोनपेले आगामी दिनमा अन्तरदेशीय सेवा विस्तार, भर्चुअल कार्ड सेवा, र डिजिटल पेमेंट पूर्वाधारमा थप लगानी गर्ने योजना बनाएको बताइएको छ।

ADVERTISEMENT