काठमाडौं । घुस प्रकरणमा विवादमा परेका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता आफ्नो मोबाइल स्विच्ड अफ गरेर बसेका छन् ।
सोमबार बिहान ११ बजे प्रधानमन्त्री केपी ओलीलाई भेट्न बालुवाटार पुगेका गुप्ता त्यहाँबाट निस्केपछि कहाँ छन् भन्ने कसैले भेउ पाएका छैनन् । उनी सिंहदरबारस्थित मन्त्रालय पनि नपुगेको बताइन्छ ।
प्रधानमन्त्री ओलीले बोलाएपछि मन्त्री गुप्ता सोमबार बिहान बालुवाटार गएका थिए । प्रधानमन्त्री ओलीसँग छलफल गरेर उनी बालुवाटारबाट बाहिरिएका छन् । बालुवाटारबाट फर्केपछि मन्त्री गुप्ता मोबाइल अफ गरेर घरमै बसेको उनी निकट स्रोतले बतायो । घुस प्रकरणको अडियो सार्वजनिक भएलगत्तै प्रधानमन्त्री ओलीले ‘एक्सन’ लिने तयारी गरेका छन् ।
यसअघि मन्त्री गुप्ताले आफूलाई भेट्न आउने मान्छेले नै मन्त्री क्वार्टरमा पैसा छाडेर गएको प्रधानमन्त्री ओलीलाई फोनमा बताएका थिए । बालुवाटारमा प्रधानमन्त्री ओलीले गुप्तालाई राजीनामा दिन भनेपछि उनी रन्थनिएर हिँडेको बुझिएको छ । स्रोतका अनुसार आज साँझ बोलाइएको मन्त्रिपरिषदमा गुप्ताले पदबाट दिएको राजीनामा स्वीकृत हुने छ ।
गुप्ता कास्की मालपोत कार्यालयका प्रमुख र भूमि आयोगका अध्यक्ष नियुक्तिका लागि चलखेल गरेर घुस लिएकोसम्बन्धी अडियो बाहिर आएपछि विवादमा तानिएका थिए । तर उनलाई पैसा दिने महिला बिचौलियाको काम भने भएन ।









